काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् ।
आईजीपी कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा तयार पारिएको नेपाल प्रहरी प्रतिको सार्वजनिक धारणा सर्वेक्षण, भीड नियन्त्रणको क्रममा मानवीय तथा भौतिक क्षति कम गर्दै गैरघातक हतियार तथा उपकरणको प्रयोगको अवस्था एवम् सुधारका क्षेत्रहरू, नेपाल प्रहरीमा वित्तीय अपराध अनुसन्धानको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू र प्रहरी जवानहरूको कार्यक्षेत्रमा कार्यसम्पादनको अवस्था र तालिमको प्रभावकारिता तथा ज्ञान, व्यवहारको मूल्यांकन सम्बन्धी अध्ययन प्रतिवेदनहरू सार्वजनिकीकरण गरे ।
उनले उत्कृष्ट कार्य गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेल, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीलाई कदरपत्र प्रदान गरे ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी नायव उपरीक्षक सुवास भट्ट, प्रहरी नायव उपरीक्षक जिवन निरौला, प्रहरी नायव उपरीक्षक दान बहादुर थापा, प्रहरी निरीक्षक विशाल मल्ल, प्रहरी निरीक्षक गणेश पौडेल, प्रहरी निरीक्षक प्रकाश रेग्मी, प्रहरी निरीक्षक सुन्दर चौलागाई, प्रहरी नायव निरीक्षक भान बहादुर चन्द, प्रहरी नायव निरीक्षक सविना तामाङ र प्रहरी सहायक निरीक्षक सरोज मजाकोटीलाई प्रशंसापत्र प्रदान गरे । उनले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी जवान प्रमिला कार्की, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोका, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई प्रशंसापत्र प्रदान गरे ।
आईजीपी कार्कीले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी उपरीक्षक विपिन रेग्मी, प्रहरी नायव उपरीक्षक अशोक थापा, प्रहरी निरीक्षक रमेश राय, प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद भट्टराई, प्रहरी सहायक निरीक्षक पवन बस्नेत, प्रहरी सहायक निरीक्षक निशा खत्री, प्रहरी सहायक निरीक्षक अर्जुन पंजियार थारू, प्रहरी जवान लाल बहादुर कार्की, प्रहरी जवान सुरज लुहार र प्रहरी जवान निवस राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनले उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी निरीक्षक देवेन्द्र दास र उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक राज कुमार चौधरी र प्रहरी हवल्दार ललिता खवासलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
आईजीपी कार्कीले उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्राविधिक प्रहरी उपरीक्षक ई. ईश्वर थापा, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. आज्ञा श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षक ई. मुकेश तिवारी, प्राविधिक प्रहरी नायव उपरीक्षक रविन भण्डारी, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक मान बहादुर कार्की, प्राविधिक प्रहरी नायव निरीक्षक ई. नविन मंडल, प्राविधिक प्रहरी सहायक निरीक्षक कृष्ण सेन र प्राविधिक प्रहरी सहायक निरीक्षक भिमसेन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । यसैगरी उनले उत्कृष्ट प्रहरी खेल प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे, उत्कृष्ट प्रहरी खेलाडी पुरस्कारतर्फ प्रहरी जवान नागेश्वर अहिर, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेमा कार्यरत उद्धव कार्की एवम् उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सन्जु महर्जन र प्रहरी जवान सुरेन्द्र अवस्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । नेपाल प्रहरी स्मारक गुठीमा आजीवन सदस्यता ग्रहण गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतका १० जना अधिकृतहरूलाई उनले कदरपत्र प्रदान गरे ।
आईजीपी कार्कीले प्रहरी दिवस २०८३ को अवसरमा नेपाल प्रहरीले आयोजना गरेको ‘टिकटक अवेयरनेस कम्पिटिसन’मा भाग लिई उत्कृष्ट जनचेतनामूलक भिडियो बनाउने बुढानिलकण्ठ नगरपालिका–१४ चुनिखेलका रिषन श्रेष्ठ र तनहुँको व्यास नगरपालिका–२ का महम्मद गफ्फारलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे ।
यसैगरी आईजीपी कार्कीले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ यशु श्रेष्ठ र प्रहरी निरीक्षक मन्दिप चौहानलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे । उनले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने सिन्धुपाल्चोक मेलम्ची–४ की लालकुमारी राउत, नुवाकोट शिवपुरी गाउँपालिका–५ का चिरञ्जिवी कार्की, सल्यान कुमाख गाउँपालिका–२ का पैले बुढा र अछाम पञ्चदेवल विनायक नगरपालिका–९ की नैना देवी जोशीलाई कदरपत्र प्रदान गरे । उनले अमर प्रहरी स्मारक डिजाइनर काठमाण्डु महानगरपालिका–८ पलेखु टोल बस्ने ९३ वर्षीय ठाकुर प्रसाद मैनालीलाई कदरपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारण एवम् नेपाल प्रहरीको विभिन्न कार्यमा सहयोग गर्ने व्यक्तिहरूलाई समेत कदरपत्र प्रदान गरे ।
कार्यक्रममा आईजीपी कार्कीलाई प्रहरी परिवारका सन्ततिको शिक्षा र उज्ज्वल भविष्य निर्माणका लागि प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोषको स्थापनार्थ ‘प्रहरी सहायक निरीक्षक, ११३औं समूहको तर्फबाट प्रहरी निरीक्षक सुरेश हायुले चेक हस्तान्तरण गरे ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी ऐन, २०१२ जारी भएसँगै नेपाल प्रहरीले संस्थागत स्वरूप प्राप्त गरेको दिनको सम्झना, विभिन्न कालखण्डमा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका अमर प्रहरीहरू प्रति श्रद्धासुमन, वर्षभरि सम्पादन भए गरेका कार्यहरूको सिंहावलोकन गरी विविध विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरू एवम् अमर प्रहरीका परिवारजनलाई सम्मान तथा पुरस्कृत गर्ने विशेष पर्वका रूपमा निरन्तर मनाउँदै आइरहेको आजको यस विशेष दिनमा विभिन्न जिम्मेवारीमा रही उल्लेखनीय तथा प्रशंसनीय कार्य गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई तथा अझ उत्तरोत्तर प्रगतिको कामना गरे ।
उनले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा उपलब्ध गराई प्रहरी संरचनाको विकासमा योगदान पुर्याउने जग्गादाताहरू तथा अपराध अनुसन्धान, भौतिक पूर्वाधार निर्माण र अन्य संस्थागत कार्यमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरूप्रति नेपाल प्रहरीको तर्फबाट हार्दिक आभार व्यक्त गरे ।
आईजीपी कार्कीले उत्कृष्ट कार्य गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूले नेपाल प्रहरीको विविध क्षेत्रमा कार्यरत रही निर्वाह गरेको जिम्मेवारी र प्रदर्शन गरेको व्यावसायिकताले नेपाल प्रहरीले जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको उल्लेख गर्दै पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्दै पुरस्कृत भएका प्रहरी अधिकृतहरूलाई आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी सेवा प्रदान गर्ने दायित्व समेत थपिएको बताए ।
शुक्रबार पुरस्कृत हुने कर्मचारीहरूले प्रदर्शन गरेको अदम्य–साहस, जिम्मेवारी बोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूले समेत प्रेरणा लिँदै आ–आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट कार्य गर्दै नेपाल प्रहरीको शिर उच्च बनाउने अपेक्षा लिएको समेत उनले बताए ।
आईजीपी कार्कीले मुलुकको बदलिँदो राजनीतिक तथा सामाजिक, आर्थिक परिवेश, विकसित हुँदै गएका सुरक्षा चुनौती, अपराधका नयाँ स्वरूप, प्रविधिको तीव्र विकाससँगै सिर्जित अवसर र चुनौतीहरूलाई मध्यनजर गर्दै आफ्नो कार्यशैली, क्षमता र कार्यसम्पादनमा समयानुकूल रूपान्तरण गर्दै अझ जिम्मेवार, व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी ढंगले नागरिक केन्द्रित सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र संवर्धनलाई उच्च प्राथमिकतामा राखी कर्तव्यपालनाको क्रममा त्यसतर्फ थप सचेत रहन समेत उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया