काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोहबिच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘पुलिस एण्ड रुल अफ ल’ नामक पुस्तक विमोचन भएको छ ।
विमोचन समारोहका प्रमुख अतिथि प्रहरी आईजीपी कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।
कार्यक्रममा आईजीपी कार्कीले गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस सिर्जनाको भाव नरोकियोस् तथा आगामी सिर्जनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गरे ।
उनले भने, ‘अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट हामीलाई मार्गदर्शन गर्ने, समाजलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानुनी शासनलाई व्यवस्थित गर्न एवम् स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सिर्जनाहरू प्राप्त भइरहनेछन् ।’
सो अवसरमा पूर्व रजिष्टार तथा नेसनल ल कलेजका प्राचार्य राम कृष्ण तिमल्सिना, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए ।
पूर्व सचिव विश्व प्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न समारोहमा पूर्व सचिव डा. कृष्ण प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीले धन्यवाद मन्तव्य व्यक्त गर्दै पुस्तकको विषयवस्तु सम्बन्धी संक्षिप्त जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति थियो ।




प्रतिक्रिया