काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आईतबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र रोयल थाई प्रहरीको संयुक्त आयोजनामा साउन ४ र ५ गते बैंककमा सञ्चालन हुने ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’मा सहभागी हुन प्रहरी महानिरीक्षक कार्की त्यसतर्फ गएका हुन् ।
उनीसँगै सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि थाइल्यान्ड प्रस्थान गरेका छन् ।
आईजीपी कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना दिँदै बिदाइ गरेका छन् ।

सम्मेलनमा सीमापार संगठित अपराधका चुनौतीहरूको सामना गर्न क्षेत्रीय रणनीति निर्माण, संयुक्त कार्ययोजना, अन्तरदेशीय समन्वय तथा सहकार्यका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको नेपाल प्रहरीले जनाएको छ ।
आईजीपी कार्कीको विदेश भ्रमण अवधिभर नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्हाल्ने जनाइएको छ ।




प्रतिक्रिया