आईजीपी कार्कीबाट प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवन उद्घाटन

आईजीपी कार्कीबाट प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवन उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवनको आईतबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् ।

कार्यक्रममा आईजीपी कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गरे ।

उक्त अवसरमा आईजीपी कार्कीले पूर्णरूपमा क्षति भएका भवनहरू पुनर्निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्दै सद्भाव एवम् साथले प्रहरी र समुदाय बिचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताए ।

आईजीपी कार्कीले प्रहरी संरचनाको पुनर्निर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताए । भवन पुनर्निर्माणसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील, उत्तरदायी हुँदै नागरिकप्रति समर्पित भएर कार्य गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिलसिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने भवन पुनर्निर्माण कार्यसमितिका अध्यक्ष एवं काठमाण्डु महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भवन पुनर्निर्माण समितिका कोषाध्यक्ष बीएन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा ई.डा. शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (आईजीपी) अबिनारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, स्थानीय समाजसेवीहरू लगायतको उपस्थिति थियो ।