काठमाडौं – सशस्त्र प्रहरी बलमा अवकाशको मुखमा रहेका डीआईजीहरुको पदावधि बढाउन चलखेल शुरु भएको छ ।
डीआईजीको पाँच बर्षे पदावधिको कारण एक सातापछि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका प्रवक्ता समेत रहेका डीआईजी सुरज श्रेष्ठको जागीर लम्बाउन सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनाल नै सक्रिय भएको स्रोतले जानकारी दियो ।
आईजी खनालले आफ्ना बिश्वासपात्र डीआईजीलाई आफूपछिको आईजी बनाउन जालझेल गरेर सरकारलाई नै गुमराहमा राख्न खोजेको तथ्य यसअगाडि नै सार्वजनिक भइसकेको छ । गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई दबाबमा राखेर डीआईजी श्रेष्ठलाई एआईजी बनाएर आफ्नो उत्तराधिकारी बनाउने आईजी खनालको योजना प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण असफल भएको थियो ।
भारतले सिमाना मिचेको विवाद चर्किएको बेलामा सिमामा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न सशस्त्रमा दरबन्दी कम रहेको र दरबन्दी थपिए सशस्त्रले सिमा सुरक्षाको जिम्मा लिने भन्दै चर्को मिडियाबाजी गराएका खनालले सुटुक्क एआईजी दरबन्दी थप्न गरेको प्रयास असफल भइसकेको छ ।
गृहमन्त्रालयका अधिकारीहरुलाई दबाब पारेर सशस्त्र प्रहरी बलमा दुई एआईजी सहित केही पदको दरबन्दी थपको प्रस्ताव गत साताको मन्त्रीपरिषदको बैठकमा पेश गराउन सफल भएका आईजी खनाल र डीआईजी श्रेष्ठ आफ्नो योजना सफल नभएपछि सशस्त्र प्रहरी नियमावली संसोधन गराएर डीआईजीको पदावधि लम्ब्याउने खेलमा लागेका छन् ।
यहि पुस १६ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका डीआईजी श्रेष्ठको जागीर लम्ब्याउन नियमावली संशोधन गर्ने तयारी गरेको हो । सशस्त्र प्रहरी बलमा डीआईजीको पदावधि पाँच बर्ष छ ।
एकजनाको ब्याक्तिगत स्वार्थको लागि अवकाशको मुखमा रहेका अधिकृतको पदावधि थपेर राज्यलाई अनावश्यक भार पार्न लागिएको भन्दै सशस्त्र प्रहरी बलमा तिब्र असन्तुष्टि छाएको छ ।
मन्त्रीपरिषदबाट सशस्त्र प्रहरी नियमावली संसोधन भएर डीआईजीको पदावधि ६ बर्ष भएमा डीआईजी श्रेष्ठसंगै बाबुराम पाण्डे र अरबिन्द धितालको जागिर पनि थप एक बर्ष लम्बिनेछ ।
उनीहरुको जागीर लम्बिएमा शैलेन्द्र खनालपछि सशस्त्र प्रहरी बलको नेतृत्वमा जाने आशामा रहेका डीआईजीहरु खड्क राई, मन्दीप श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल र प्रवीण श्रेष्ठ लगायतको वृत्तिविकासमा प्रत्यक्ष असर पर्छ ।
नियमावली संशोधन गरेर डीआईजी पदावधि लम्बाउने खेल सफल भएमा डीआईजी बढुवाको लाइनमा रहेका हरीशंकर बुढाथोकी, हरिश्चन्द्र अधिकारी, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, किशोर प्रधान र बंशीराज दाहालले एसएसपीबाटै अवकाश पाउनेछन् ।
एआईजी सहितको दरबन्दी थपको लागि गत साताको मन्त्रिपरिषदमा पुगेको फाइलमा दुई एआईजी दरबन्दी थपको प्रस्ताव देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एआईजी बाहेकको दरबन्दी थपको लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओ एण्ड एम) सर्भेको प्रक्रिया पुर्याएर ल्याउन निर्देशन दिएपछी खनाल र श्रेष्ठको योजना सफल हुन सकेको थिएन ।
यद्यपि उक्त मन्त्रिपरिषद बैठकले दरबन्दी थप नगरेपनी सिमा सुरक्षाको लागि भन्दै सिमामा एक सय चौधवटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया