प्रहरी संगठन चलायमान : एआईजीमा विश्वराजको बढुवासँगै अस्वस्थ चलखेलको अन्त्य


काठमाण्डु- राजनीतिक अस्थिरता र सरकारको निर्णय क्षमताको कमीका कारण नेपाल प्रहरीको उच्च तहको बढुवामा ‘जाम’ लाग्ने गर्थ्यो । जसले गर्दा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो ।

पछिल्लो चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार छ, गृहमन्त्री रामबहादुर थापा छन् । राजनीतिक स्थिरता सँगसँगै नेपाल प्रहरीमा बढुवाको कामकारवाही समेत समयमै भइरहेका छन् ।

समयमै बढुवा र सही मूल्यांकन नहुँदा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० बाट आईजीपी नियुक्त गर्नुपर्ने हुन्थ्यो । आईजीपी र डीआईजीको बीचमा रहने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद प्रायः रिक्त रहन्थ्यो । नेपाल प्रहरीमा डीआईजीबाट सोझै आईजीपी बनाउनुपर्दा र अस्वाभाविक राजनीतिक चलखेल हुँदा तत्कालीन डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको विवाद सतहमै देखिएको थियो ।

मुलुकमा राजनीतिक स्थिरता कायम भएसँगै माथिल्लो दर्जाका पदहरू रिक्त छैनन् । सरकारले हालै थप गरेको एआईजीको दरबन्दीमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस अनुसार पोखरेलको बढुवा भए उनी भावी आईजीपी बन्ने लगभग निश्चित भएको छ ।

मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीको १ दरबन्दी थप गर्ने निर्णय गरेको थियो । गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने बढुवा सिफारिस समितिको सोमबारको बैठकले पोखरेलको मात्र नाम सिफारिश गरेको छ । सिफारिसलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि पोखरेल एआईजी बन्ने भएका छन् । यससँगै पोखरेल २०७९ बैशाख २० गतेदेखि चैत २९ गतेसम्म प्रहरी महानिरीक्षक बन्ने प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदबाटै आफ्ना ब्याचीलाई पछाडि पार्दै डीआईजी बढुवा भएका पोखरेलले एआईजीमा पनि त्यसैलाई निरन्तरता दिएका छन् । यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोखरेल एकल बढुवामा परेका थिए । सरकारले उनलाई २०७६ वैशाखमा डीआईजी बढुवा गरेको थियो ।

हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका डीआईजी पोखरेल वरियताका आधारमा एआईजी बन्दैछन् । सरकारले महानगरीय प्रहरी कार्यालयको प्रमुख एआईजी रहने व्यवस्था समेत गरेको छ । यसअघि नै प्रहरीमा २ जना एआईजीको बढुवा हुँदा समेत उनी बढुवाको दौडमा थिए । एआईजी बढुवाको लाइनमा रहेका प्रद्युम्न कार्की र निरज शाहीको ठाउँमा पोखरेललाई एआईजी बनाउन चर्को दबाब भए पनि प्रहरी महानिरीक्षक शैलेश थापाले वरियता नमिच्ने अडान लिएपछि उनको बढुवा रोकिएको थियो । अहिले दरबन्दी नै थपेर पोखरेलको बढुवा हुन लागेको छ ।

पोखरेललाई बढुवा गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरादेखि तत्कालीन अख्तियार प्रमुख नविन घिमिरेसम्मको सरकारमाथि दबाव थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत उनलाई एआईजी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । तर प्रधानमन्त्री ओलीले पछि दरबन्दी थप गरेर भए पनि एआईजी बनाउने वचन दिएपछि उनको प्रयास रोकिएको थियो ।

पोखरेल नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । प्रचारमुखी स्वभाव भए पनि उनी हालसम्म कुनै विवादमा भने आएका छैनन् ।

हालका आईजीपी शैलेश थापा र एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले २०७९ वैशाख १९ गते अवकाश पाउनेछन् । त्यसपछि १ वर्ष पोखरेल नेपाल प्रहरीको एआईजी बन्नेछन् भने त्यसअघि डेढ वर्ष एआईजीको जिम्मेवारी सम्हाल्नेछन् । प्रहरीमा ३० वर्ष सेवा अवधि हटेमा उनी त्योभन्दा बढी समय पदमा कायम रहने जनाइएको छ ।

२०४९ चैत २९ गते प्रहरी निरीक्षकका रूपमा पोखरेलले सेवा प्रवेश गरेका हुन् । पोखरेलसँग नेपाल प्रहरीका महत्त्वपूर्ण विभागमा बसेर काम गरिसकेको अनुभव छ । उनी डीएसपी हुँदा बानेश्वर वृत्त प्रमुख भएका थिए । एसपी छँदा कर्मचारी प्रशासन शाखा र मोरङ प्रहरी प्रमुखको रूपमा उनले काम गरेका थिए । एसएसपी हुँदा पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौं र डीआईजीमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख हुँदा समेत पोखरेलले मातहतका निकायमा मेस सुधार, अनुशासन कायम गर्न विभिन्न काम गरेका छन् । दक्ष प्रहरी अधिकारीको बढुवा सँगसँगै बढुवामा कुनै ‘जाम’ नलाग्दा तल्लो तहका अधिकृतहरूमा समेत हौसला बढ्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

यो पनि पढ्नुहोस- प्रहरी जवानका सुविधामा ध्यान दिँदै ‘भावी आईजीपी’

प्रतिक्रिया दिनुहोस
Advertisement