निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिँदै, काे बन्लान् नयाँ आईजीपी ?

निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिँदै, काे बन्लान् नयाँ आईजीपी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई महानिरीक्षक (आईजीपी) फेरिँदै छन् । मुलुक स्थानीय निर्वाचनतर्फ अघि बढेका बेला ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व परिवर्तन हुने भएको हो ।

नेपाल प्रहरीका आइजीपी सैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल निर्वाचन अगावै अनिवार्य अवकाशमा जाँदैछन् । योसँगै सुरक्षामा क्रमशः पहिलो र दोस्रो घेरामा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा स्थानीय तहको निर्वाचन नयाँ आईजीपीको नेतृत्वमा हुने भएको हाे ।

खनाल यहि चैत २८ गतेबाट बिदा बस्नेछन् भने क्षेत्री बैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका आईजीपी क्षेत्रीको ३० वर्षे सेवा अवधि आगामी १८ वैशाखमा सकिँदै छ । त्यसैले उनले स्थानीय निर्वाचन गर्न पाउँदैनन् ।

१८ वैशाखपछि एआईजी विश्वराज पोखरेल र सहकुल थापामध्येबाट एक जना आईजीपी बन्नेछन् । दुवै जनालाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर एआईजी बनाएको हो । यी दुईमध्ये जो आईजीपी भए पनि प्रदेश र संघीय निर्वाचन उसैको नेतृत्वमा हुनेछ ।

सशस्त्रका हालका आइजीपी खनाल चारवर्षे पदावधिका कारण यहि २८ चैतमा अवकाशमा जाँदैछन् । त्यसपछि उनकै ब्याचका एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट एक जना थोरै समयका लागि नेतृत्वमा पुग्नेछन् । जो आईजीपी भए पनि स्थानीय तह निर्वाचन अगावै १८ वैशाखमा ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जानेछन् । खनालकाे अवकाशपछि केसी र पौडेलमध्ये जो आईजीपी बने पनि २१ दिन मात्रै सशस्त्र प्रहरीको कमान्ड हाँक्ने अवसर पाउनेछन् ।

सशस्त्रमा अहिले एआईजीको दरबन्दी दुईओटा मात्रै छ । आईजीपी खनालले अवकाश पाएपछि रिक्त एआईजी पदमा जो बढुवा हुन्छ, उही नै आईजीपी बन्ने पक्का छ । वैशाख १९ पछि बन्ने सशस्त्र प्रहरीको आईजीपीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ ।

उनीहरू तीनैजना आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । सशस्त्र प्रहरीमा हाल दुई एआईजी छन् । एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना २१ दिने आईजीपी हुँदा एआईजीको एक दरबन्दी खाली हुनेछ । खाली रहेको दरबन्दीमा डीआईजीहरू अर्याल, पौडेल र गौतममध्ये जसले बाजी मार्छन्, उनी नै सशस्त्रको आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।

यीमध्ये वरीयतामा अर्याल अगाडि छन् । १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरूपछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।