काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रदेश र संघको एकैचरणमा निर्वाचन हुने हुँदा नेपाल प्रहरीलाई सवारी साधनको अभाव हुने सम्भावना देखिन्छ ।
सोहि सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि ६५१ वटा सवारी साधन खरिदका लागि ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले १५० वटा सवारी साधन खरिद गर्न ७५ करोड रुपैयाँ मात्रै बजेट उपलब्ध गराएको छ ।
नेपाल प्रहरीले सवारी साधन खरिद गर्न ७५ करोड रुपैयाँ प्राप्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । ०७० सालमा किनेका सवारी साधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नका लागि पनि नयाँ सवारी साधनको आवश्यकता परेको प्रहरीले बताउँदै आएको छ ।
देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारी साधनका लागि बजेट उपलब्ध गराएको थिएन । त्यति बेला प्रहरीले एक हजार दुई सय सवारी साधन भाडामा लिएर चलाएको थियो ।
आगामी चुनावका लागि प्रहरीले एक हजार ५२९ पीकअप भ्यान, ११० वटा ‘वान टन’ गाडी र बस किन्नका लागि बजेट माग गरेको थियो । तर, प्रहरीले माग गरेबमोजिम बजेट पाउन नसकेको हो ।
नेपाल प्रहरीका देशभर २६६० वटा प्रहरी युनिट छन् । ती मध्ये ९४३ वटा युनिटमा गाडी नभएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । प्रहरीले लामो समयदेखि गाडी खरिद नगर्दा सुरक्षाकर्मीलाई समस्या भइरहेको छ ।
त्यस्तै प्रहरीसँग निर्वाचन सुरक्षाका लागि हतियार पनि अपुग छ । प्रहरीलाई ७ हजार ८९४ सञ्चार सेट र हतियार आवश्यक छन्, जसका लागि पनि बजेट माग गरेको थियो ।
स्थानीय तह चुनावमा प्रहरीले सेनाबाट हतियार सापट लिएर चलाएको थियो । अहिले पनि आवश्यक पर्ने हतियार सेनाबाटै सापट लिएर चलाउने प्रहरीले तयारी गरिरहेको छ ।




प्रतिक्रिया