काठमाडौं – ‘प्रहरीको लाठीले डाक्टर चिन्दैन !’ ‘प्रहरी मेरो साथी’ नारासहित खटिएका नेपाल प्रहरीका अधिकारीको बोली हो यो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. विकास शाह, शम्भु खनाल र तेजप्रकाश शाह ड्युटीबाट घर फर्किंदा बाटोमा प्रहरी भेटिएपछि एकातिर लाठी पाए, अर्काेतिर जवाफ – ‘प्रहरीको लाठीले डाक्टर चिन्दैन !’
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको प्रभावकारिताका लागि देशभर प्रहरी परिचालन भएका छन् । प्रहरी सँगसँगै कोरोना भाइरसका सक्रमित र शंकास्पद व्यक्तिको उपचारमा खटिएका छन् स्वास्थ्यकर्मी । कोरोना भाइरस विरुद्धको लडाइँमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण छ । यही महत्वलाई बुझेर सरकारले चैत २२ गते निर्णय गरेको छ – कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरूको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरूलाई विरोध गर्ने व्यक्तिलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुने सरहको कानून बमोजिम कारबाही गर्ने ।
सरकारी निर्णय विपरीत महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ड्युटी सकेर घर फर्किरहेका चिकित्सकमाथि लाठी प्रहार गरेको छ । अत्यावश्यक काममा खटिएको र चिकित्सक भएको जानकारी दिँदादिँदै प्रहरी टोलीले विवेकशून्य र मूर्खतापूर्ण अभिव्यक्ति दिएको पीडित चिकित्सकको आरोप छ । महाराजगञ्ज वृत्तको नेतृत्व प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले गरिरहेका छन् । महामारीको बेला चिकित्सकमाथि प्रहरीबाटै अमानवीय दुव्र्यवहार भएको घटनाले लम्सालको नेतृत्व क्षमता र कमाण्डमा प्रश्न खडा भएको छ ।
चिकित्सक संघको आपत्ति
ड्युटीबाट घर फर्किएका डाक्टरमाथि प्रहरीबाट भएको लाठीचार्ज र कुटपिटको घटनाको निन्दा गर्दै नेपाल चिकित्सक संघले संलग्नमाथि छानबिन र कारबाहीको माग गरेको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति संघ घोर भत्सर्ना र निन्दा गर्दछ । अविलम्ब त्यस्ता प्रहरीहरूको छानबिन गरी कानूनी कारबाही गर्न माग गर्दछ ।’
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न प्रहरीमाथि कारबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी समेत दिइएको छ ।
प्रहरीको छानबिन समिति गठन
लकडाउनको उल्लंघन गरेको निहुँमा चिकित्सकमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको संयोजकत्वमा गठित छानबिन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटी सदस्य रहेका छन् ।
घटनाको यथार्थ बुझेर यथाशीघ्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जनाएका छन् । डीएसपी लम्सालको प्रत्यक्ष कमाण्डमा वृत्तबाट परिचालन भएको टोलीले चिकित्सकीय गतिविधि र आवश्यकताको ख्याल नै नगरी विवेकशून्य भएर कुटपिट गरेको घटनाले प्रहरी संगठन नै आलोचित बनेको छ ।
प्रहरी संगठनलाई सरकारले लाठी र बन्दुक चलाउने अधिकार दिएको छ । तर यी सबै हतियारको प्रयोग विवेकयुक्त हुनुपर्ने हो । वृत्तबाट परिचालन भएको प्रहरी टोलीले चिकित्सकलाई दिएको ‘प्रहरीको लाठीले डाक्टर चिन्दैन !’ भन्ने जवाफ झनै खतरनाक छ । हातमा लाठी छ भन्दैमा बलमिच्याइँ गर्नु मूर्खतापूर्ण काम हो । प्रहरीको लाठीले डाक्टर नचिन्ने तथा डाक्टरको चक्कु र सुइँले प्रहरी नचिन्ने अराजकता फैलिनबाट सरकारले सजग हुनुपर्ने भएको छ ।




प्रतिक्रिया