स्थानीय निर्वाचन : यस्तो छ नेपाल प्रहरीको सुरक्षा तयारी

स्थानीय निर्वाचन : यस्तो छ नेपाल प्रहरीको सुरक्षा तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार हुने स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । निर्वाचनको सुरक्षाका लागि सम्भावित जोखिम हुन नदिन चुनाव हुनुभन्दा ७२ घण्टाअघि नै सबै सीमानाका बन्द गरिएको उनले बताए ।

विशेष गरी नेपालको मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा भयरहीत मतदान गराउन सीमानाका बन्द गरिएको छ । देशभरिका मतदान केन्द्रहरूमध्ये मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी धनुषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।
सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ भने सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । त्यहाँ पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

मधेस प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ । जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको छ ।

देशभरका सबै मतदान केन्द्रहरूमा म्यादी प्रहरीसमेत गरी १ लाख ६५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भइसकेको प्रवक्ता केसीले बताए । निर्वाचनको क्रममा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न उच्च हिमाली भेग र खुला सीमानाका भएका क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । खुला नाका भएका क्षेत्रहरूमा साना हातहतियारको प्रयोग हुनसक्ने र निर्वाचनलाई लुकीछिपी अशान्ति मच्चाउन सक्ने तत्वहरूमाथि नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको उनले बताए ।

उनले निर्वाचनलाई भयरहीत बनाउन संगठनको तर्फबाट गर्ने कामहरू मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्बद्ध कर्मचारीको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरूको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरूको सुरक्षाका सम्पूर्ण जिम्मेवारीका लागि पनि नेपाल प्रहरी तयार रहेको बताए ।

मतदानपश्चात् मतपेटिका, उम्मेदवार जित्ने र हार्ने पक्ष दुवै पक्षको सुरक्षाका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना बनाएर तयारी गरेको उनको भनाई छ । सरकारले निर्वाचन सुरक्षाका लागि देशभर दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा प्रहरीले ६१ हजार जनशक्ति निर्वाचनमा परिचालन गरेको छ ।

ट्राफिक प्रहरी , सिआइबी , तथा लागुऔषध नियन्त्रण ब्युरो जस्ता विशिष्टिकृत अनुसन्धान गर्ने निकायका समेत गरेर थप १० हजार जनशक्ति केन्द्रबाट जिल्लाहरुमा पठाइएको छ ।

करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।