यसरी भएको थियो सिन्धुपाल्चोक प्रहरी चौकीमा आक्रमण


काठमाडौं – शुक्रबार मध्यराति मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८ स्थित तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा आक्रमण भयो ।

सो आक्रमणबाट दुई जना प्रहरी समेत घाइते भए । घाइते प्रहरी सहायक निरीक्षक (असई) सन्तोषकुमार झाको स्थानिय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई शनिबार काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल ल्याइएको छ । उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ ।

अर्का प्रहरी हवल्दार हरिबहादुर मगर भने सामान्य घाइते भएका छन् । प्रहरी चौकी नजिकै मदिरा सेवन गरेर हो–हल्ला गर्ने एक समूहले सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण गरेको थियो ।

प्रहरीले राति राति होहल्ला नगर्न आग्रह गर्दा उनीहरुले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले हो–हल्ला गर्ने समूहका एक जनालाई पक्राउ गरेको छ ।

त्यसपछि मोटरसाइकलमा आएका आक्रासित १०–१५ जनाको समूहले प्रहरी चौकीमा आक्रमण गरेका थिए । क्रमणबाट प्रहरी चौकीको झ्याल, सिसा फुटेको छ । चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको जनाएको छ ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा शनिबार अनुसन्धानका लागि प्रहरी खटाइएको छ ।

घटनाको छानबिन गरी प्रहरीबाट के कस्तो कमजोरी भएको हो प्रतिवेदन बुझाउन घिमिरे नेतृत्वलाई नै जिम्मा दिइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख इन्सपेक्टर फलबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement