प्रहरी मुख्यालयभित्रै अख्तियारको छापा, प्रहरी नेतृत्व विवादमा 

प्रहरी मुख्यालयभित्रै अख्तियारको छापा, प्रहरी नेतृत्व विवादमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल नियुक्त भएपछि प्रहरी संगठन एकपछि अर्काे काण्डमा फसेको छ । जनस्तरमा प्रहरीप्रति साख गिर्दाे रहेको देखिन्छ । खनाल २०७४ चैत २७ गते आईजीपी नियुक्त भएका हुन् । प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिने खनालको आईजिपी हुनुभन्दा पहिले जनस्तरमा इमेज राम्रो थियो । तर, खनालले प्रहरीको कमाण्ड सम्हालेसंगै उनीमाथी प्रश्नहरु उठ्न थालेका छन् । 

बहुचर्चित निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी लापरवाही, फेक इन्काउन्टर, विप्लवका विध्वंशात्मक गतिविधि नियन्त्रण गर्न नसक्नु, चितवन प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेट्नु, गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापाबारे पर्याप्त प्रमाण विना हल्ला फैलाएर गृहमन्त्रीलाई नै विवादमा ल्याउन खोज्नु जस्ता काण्डमा आईजीपी खनाल मुछिएका छन् ।

सुडान घोटालाको पुनरावृत्ति !

आईजीपी खनालको थाप्लोमा नयाँ काण्ड थपिएको छ । सामान खरिद अनियमितता । प्रहरी संगठनभित्र आवश्यक विभिन्न बन्दोबस्तीका सामान खरिदमा अनियमितता भएको बलियो आंशकाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी मुख्यालयमै छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । प्रहरीकै मुख्यालयमा पुगेर अख्तियारले छापा हान्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

आईजीपी खनालको हालसम्मको डेढ वर्षे कार्यकालमा सामान खरिद अनियमितता सबैभन्दा ठूलो काण्डको रुपमा आउनसक्ने विश्लेषण हुन थालेको छ । यसअघि समेत २०६५–६६ सालमा प्रहरीमा खरिद अनियमितता काण्ड ‘सुडान घोटाला’ भएको थियो । जसमा कैयांै प्रहरी अधिकारीमाथि कारवाही भएको छ । 

आईजीपी खनालले त्यो घोटालाबाट पाठ सिकेको देखिएन । त्यसैले अख्तियारले प्रहरी मुख्यालयमै छापा हानेर कागजात नियन्त्रणमा लियो । अख्तियारले छानबिन अगाडि बढाउँदै गर्दा आईजीपी खनाल मुछिएको अनियमितता सुडान घोटालाको पुनरावृत्तिका रुपमा आउनसक्ने अनुमान समेत गर्न थालिएको छ ।

अख्तियारले प्रहरी मुख्यालयबाट विगत २ वर्षयताका खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अख्तियारले प्रहरी कर्मचारीका पोशाक, सवारीसाधन र विभिन्न सामान खरिदका सक्कली कागजात बरामद गरेको छ । सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियारमा २०७६ साउन २१ गते उजुरी परेको थियो । प्रहरीको बुट, पोशाक, मोटरसाइकल खरिद गर्दा घोटाला भएको उजुरीमा अख्तियारको ‘गोप्य छानबिन’ सोझिएको छ ।

नेपाल प्रहरीले आर्थिक वर्ष २०७४\७५ मा ९० करोड १ लाख रुपैयाँ र २०७५\७६ मा ६८ करोड ५२ लाख रुपैयाँका प्रहरी पोशाक खरिद गरेको थियो । स्वदेशभित्रै क्षेत्रीय प्रहरी कार्यालयले सामान खरिद गर्न सक्ने व्यवस्थालाई उल्ट्याएर आईजीपी भएपछि खनालले सबै सामान प्रहरी मुख्यालयले नै खरिद गर्ने निर्णय गरेका थिए । सबै सामान खरिद गर्ने अधिकार आफ्नो कार्यालयमा ल्याएर अनियमितता भएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ । अख्तियारको प्रारम्भिक छानबिनमा घोटालाका संकेत देखिएका स्रोतको दाबी छ ।

सरकारकै बद्नाम

आईजीपी खनालले प्रहरी नेतृत्व सम्हालेपछि शान्तिसुरक्षा र अपराध अनुसन्धानमा गम्भीर प्रश्न खडा भए । जसबाट जनअपेक्षा उच्च भएको नेकपा नेतृत्वको सरकारलाई नै बद्नाम गराउने काम भयो ।कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रहरी संगठनबाट गम्भीर लापरवाही भएको भनेर जनस्तरबाटै चर्काे विरोध भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता कुमार पौडेलको ‘फेक इन्काउन्टर’को विषयमा सत्तापक्षकै सांसदले विरोध गरे ।

विभिन्न दूरसञ्चार कम्पनी लगायत बम विस्फोटका विध्वंशकारी गतिविधि हुनसक्ने पूर्व सूचना हुँदाहुँदै पनि त्यसलाई रोक्न नसकेको आरोप समेत प्रहरी संगठनलाई लाग्दै आएको छ । राजनीतिक स्थिरतासहितको दुईतिहाइ बहुमत प्राप्त सरकार भएका बेला सुरक्षा संगठनले मजबुत भएर काम गर्नुपर्नेमा आईजीपी सर्वेन्द्र खनालको नेतृत्व सशक्त देखिएन । प्रहरी नेतृत्वको अक्षमताले सरकारप्रतिकै जनविश्वास घटायो ।

प्रहरीका अधिकृत तहका कर्मचारी नै विभिन्न घुसकाण्डमा पक्राउ परे । अख्तियारकै टोलीले राजधानीबाटै घुससहित प्रहरी अधिकृतहरूलाई पक्राउ ग¥यो । प्रहरी संगठनभित्र शुद्धीकरणदेखि समाजमा शान्तिसुरक्षा कायम गर्न आईजीपी खनालको नेतृत्व असफल जस्तै देखिएको छ । प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेललाई यसबारेमा सोध्न बारम्वार टेलिफोन गर्दा उनले फोन उठाएनन् ।