लकडाउनको कडाईपुर्वक कार्यान्वयन गर्न सातै प्रदेशका प्रमुखलाई आईजिपीको निर्देशन

लकडाउनको कडाईपुर्वक कार्यान्वयन गर्न सातै प्रदेशका प्रमुखलाई आईजिपीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई लकडाउन गर्ने सरकारको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्सद्वारा महानिरीक्षक ज्ञवालीले सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन, शान्ति सुरक्षाको वर्तमान अवस्था एवं समसामयिक विषयमा बुधबार सातै प्रदेशका प्रमुहरुलाई निर्देशन दिएका हुन् ।

साथै महानिरीक्षक ज्ञवालीले आन्तरिक काम कारवाहीका सम्बन्धमा समेत जानकारी लिएका थिए ।

भिडियो कन्र्फेन्समा प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिमा सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण अदभूत साहस छ भन्ने सन्देश गएको चर्चा गर्दै त्यसको निरन्तरता हुनुपर्नेमा जोड दिए ।

उनले यस्तो परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने बताए । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकताअनुसार थप व्यवस्था गरिने ज्ञवालीको भनाई थियो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिंदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसंग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देशन दिए । सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तर प्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्ण रुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिनतर्फ ध्यान दिनुपर्ने ज्ञवालीको भनाई थियो ।

बाढी, पहिरो, हावाहुरी, खडेरी लगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत प्रहरी जनशक्तिको परिचालन गर्न तयारी अवस्थामा रहनुपर्ने ज्ञवालीले बताए ।

अन्तरक्रियाको क्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले आ आफ्नो प्रदेशको वर्तमान वस्तुस्थिति, शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भिडियो कन्फ्रेन्सका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।