अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिईको व्यवस्था गरिन्छ : आइजीपी ज्ञवाली


काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी)ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन, शान्ति सुरक्षाको वर्तमान अवस्था एवं समसामयिक विषयमा बुधबार निर्देशन दिए ।

साथै उनले सबै प्रदेशका प्रमुखहरुसँग उक्त विषय तथा आन्तरिक काम कारवाहीका सम्बन्धमा अन्तरक्रिया समेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण अदभूत साहस छ भन्ने सन्देश गएको चर्चा गर्दै त्यसको निरन्तरता हुनुपर्ने बताए ।

यस्तो परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उनले उल्लेख गरे । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकता अनुसार थप व्यवस्था गरिने उनले बताए । प्रहरी महानिरीक्षक ज्ञवालीले सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देशन दिए ।

सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तर प्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्ण रुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिनतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरु घटन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै विषम परिस्थितिको कारण हुन सक्ने अपराध र साम्प्रदायिक दंगा लगायतका घटनाप्रति उच्च संवेनशील भई कार्य गर्न निर्देशन दिए । बाढी, पहिरो, हावाहुरी, खडेरी लगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत प्रहरी जनशक्तिको परिचालन गर्न तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।

अन्तरक्रियाको क्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो प्रदेशको वर्तमान वस्तुस्थिति, शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिएका थिए।भिडियो कन्फ्रेन्सका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement