काठमाडौं – प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनलाई अझै राम्रो बनाउने भन्दा अरु कुनै विकल्प नभएकोले यसको सुदृढिकरणको लागि सबैको श्रृजनात्मक प्रयास जरुरी रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी अधिकृत तथा जवानहरुलाई शान्ति सुरक्षा एवं समसामयिक विषयमा निर्देशन दिँदै आइजिपी खनालले उक्त कुरा बताएका हुन् । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व तथा नेपाल संवतको अवसरमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढी चनाखो भई आफ्नो क्षमताको प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्न आइजिपी खनालले निर्देशन दिए ।
नागरिकलाई पुर्याउँदै आएको सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न समुदायसँग सहकार्य गर्दै जानुपर्नेमा जोड दिए । आइजिपी खनालले नेपाल सरकारले लिएको दृष्टिकोण अत्यन्तै राम्रो भएको चर्चा गर्दै त्यसलाई आत्मसात गर्दै प्रहरी कर्मचारीहरुले इमानदारिता एवम् निष्ठापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।
अरुको भन्दा पनि आफ्नो क्षमतामा विश्वास गर्दै आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गर्न सबै प्रहरी कर्मचारी एक्यबद्ध भई सक्रिय रुपमा प्रस्तुत हुन समेत उनले उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
साथै प्रहरी आइजिपी खनालले ५ नम्बर प्रदेश तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १६ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला अवलम्बन गर्नुपर्ने शान्ति सुरक्षासँग सम्बन्धित नीतिहरु, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, प्रहरी कर्मचारीहरुको बोली, वचन, व्यवहार र पोशाक, प्रहरी कार्य एवं समसामयिक विषयमा शुक्रबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन् । चाडपर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि उहाँले भिडियो कन्फ्रेन्सद्वारा उक्त निर्देशन दिएका हुन् ।





प्रतिक्रिया