साढे दुई वर्षमा झण्डै सात हजार प्रहरीको राजीनामा, पेसाप्रति छैन आकर्षण


काठमााडौं – नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।

आर्थिक वर्ष २०७५/७६ मा ३ प्रहरी उपरीक्षक (एसपी), ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् । यसैगरी, चालू आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन् ।

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए । त्यसअघि डीआईजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए । सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा सदस्य बनेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement