प्रहरी नेतृत्व असफल, काठमाडौंमा साना हतियारको बिगविगी


काठमाडौं – काठमाडौं उपत्यकामा साना हतियारको किनबेच तथा प्रयोग बढ्न थालेको छ । ललितपुरको नख्खिपोटबाट दुई दिनमै चार थान पेस्तोल र ६१ राउण्ड गोली बरामद भएपछि यसको प्रयोग र किनबेच बढेको खुलेको हो ।

प्रहरीले एउटै समूहका पाँचजनालाई खरिद बिक्रीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । आइतबार र सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको संयुक्त टोली तथा अपराध महाशाखाको टोलीसमेतको सर्च अपरेसनमा हतियार ल्याउने मध्येका प्रमुख व्यक्ति रोशन सुब्बासहित पाँच जनालाई पक्राउ गरेको थियो।

गत आइतबार काठमाडौं र ललितपुर प्रहरी परिसरले पेस्तोल बिक्री गर्न हिँडेका ३ जनाको समूहलाई पक्राउ गरेलगत्तै त्यसको भोलिपल्ट भारतबाट हतियार ल्याएर काठमाडौं उपत्यकामा बिक्री गर्ने सुब्बालाई पक्राउ परेका हुन् ।

विगतमा गुण्डा नाइके चक्रे मिलनको समूहमा रहेर गुण्डागर्दीमा संलग्न सुब्बाले नै भारतबाट हतियार ल्याएर बेच्न थालेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेले दिएको बयानको आधारमा सुब्बा र रामचन्द्र अधिकारी पक्राउ परेका हुन् ।केही समयअघि प्रहरीले गरेको अध्ययनअनुसार काठमाडौंको ठमेल क्षेत्रमा सबैभन्दा धेरै साना हतियारको कारोबार हुने गरेको छ ।

कतिमा पाइन्छ हतियार
प्रहरीका अनुसार कटुवा पेस्तोल भारतको रक्सौल, रुपैडियालगायत सिमा क्षेत्रमा ६ हजारदेखि ८ हजार रुपैयाँमा पाइन्छ । त्यहाँबाट नेपालको तराईसम्म आउँदा सो पेस्तोलको १० हजारदेखि १५ हजार तथा काठमाडौंमा ल्याउदा त्यसको मूल्य बढेर ३० हजार पर्ने गरेको छ ।

हतियार ल्याउने समूहले कटुवा पेस्तोलको मूल्य कम्तीमा ५० हजार र बढीमा ६० हजार लिएर बेच्ने गरेका छन् । त्यसैगरी सिक्सर पेस्तोलको भारतमा खरिद गरी काठमाडौंसम्म ल्याउदा ५० देखि ६० हजार सम्म पर्ने र बिक्री गर्दा ८० हजारभन्दा माथि पर्ने पनि प्रहरी अनुसन्धानले जनाएको छ । जर्मन वा इटालियन मेड लेखेको आधुनिक पेस्तोल भारतमा ४० हजार देखिमाथि खरिद गरी काठमाडौंमा एक लाखदेखि १ लाख ५० हजारसम्म बिक्री गर्ने गरेको पनि प्रहरीको दाबी छ । आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement