रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा दुई प्रहरीले बीच सडकमा कन्टेनर चालकमाथि कुटपिट गरेका छन् ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक र हवल्दारले ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई कुटपिट गरको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रहरीले चालकलाई लात्ती प्रहार गरेका छन्, कपालमा समातेर लडाएका छन् ।
सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि रसुवा प्रहरी घटनाबारे बोल्न बाध्य भएको छ । प्रहरीले नै चालकमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले गम्भीर ध्यानकर्षण भएको भन्दै एक विज्ञप्ति निकालेको छ ।
‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ । घटनाबारे छानबिन गरि दोषी उपर कारबाही गरिनेछ ।’
चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि प्रहरीले नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।




प्रतिक्रिया