काठमाण्डु – उपत्यका अपराध अनुसन्धान कार्यालयमा तीन र जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई प्रहरी उपरीक्षक (एसपी) राख्ने निर्णय भएको छ ।
प्रहरी प्रधान कार्यालयले परिसर र कार्यालयमा थप एसपी खटाउने निर्णय गर्दै नयाँ बढुवा भएका एसपीलाई खटाएको हो ।
पहिला काठमाण्डौँ परिसरमा एक र कार्यालयमा दुई एसपी थिए । आइतबार बेलुका परिसरमा थप एक र कार्यालयमा थप एक एसपी पठाइएको हो ।
परिसरका एसपी नवराज अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि अपिलराज बोहरालाई सरुवा गरिएको थियो।
बोहरा परिसरमा हाजिर भइसकेका छन्। आज पदस्थापन र काज गर्दा बढुवा भएका एसपी कुलदीप चन्दलाई परिसरमा खटाइएको छ ।
एसपी चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरी काजमा जिल्ला प्रहरी परिसर काठमाडौँमा खटाइएको हो । चन्दको पदस्थापन योगेन्द्र सिंह थापा सरुवा भएको स्थानमा गरिए पनि काजमा काठमाडौँमा खटाउने निर्णय भएको हो।
अपराध अनुसन्धान कार्यालयमा दुई एसपी कार्यरत रहेकोमा एक थपेर तीन एसपी पुर्याइएको छ । यसअघि कार्यालयमा काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन्। आज बढुवा भएका एसपी मनोहर प्रसाद भट्टलाई कार्यालयमा काजमा खटाइएको छ ।
उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरी कार्यालयमा काजमा खटाइएको हो । भट्टलाई महेन्द्र कुमार श्रेष्ठको स्थानमा पदस्थापन गरेर काजमा खटाइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजीपी) दिनेशकुमार आचार्यले जानकारी दिए।
कामको चाप बढी भएकाले दुवै कार्यालयमा थप एसपी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया