प्रहरीविरुद्ध नै १९९ उजुरी


काठमाडौं- प्रहरीमा क–कसका विरुद्ध उजुरी पर्लान् ? सामान्यतया सबैको अनुमान हुन्छ चोर, फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्ध । तर, नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्धसमेत पनि उजुरी पर्ने गरेको पाइएको छ ।

प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५-७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ । नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरी विरुद्ध) मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फछ्र्योट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ ।

उजुरी छानबिन शाखाका डीएसपी कुलदीप चन्दले सेवाप्रवाहमा भएको ढिलासुस्ती, लेनदेनसहितका आचरण, पक्षविपक्षमा देखाएको निकटता, सीमावर्ती क्षेत्रमा प्रहरीबाट भएका बदमासी, क्रसर उद्योगमा देखिएका विवादलगायतका विषयमा प्रहरीकै विरुद्ध उजुरी आउने गरेको जनाए ।

‘प्रहरीबाट काम कारबाहीमा भएका ढिलासुस्तीदेखि प्रहरीका आचारण, सीमामा देखिएका बदमासी, लेनदेनका विषयलगायतमा उजुरी आउने गरेको छ,’ शाखाका डीएसपी चन्दले राजधानीसँग भने । यसरी उजुरी आउँदा विभिन्न स्रोत अख्तियार, हेलो सरकार, गृहमन्त्रालय, ई—कम्प्लेन, हुलाक, बेनामेपत्रमार्फत आउने गरेको चन्दले जानकारी दिए ।

प्रहरीविरुद्ध आएका उजुरीलाई छानबिनपश्चात फछ्र्र्योट गरेर जुन माध्यमबाट उजुरी आएका हुन् सोहीमार्फत नै फछ्र्र्योट भएपछिको विवरणसमेत पठाउने गरेको छ । यसबाहेक आन्तरिक रूपमा समेत चालू आर्थिक वर्षमा आचरणविपरीतका १६६ उजुरी प्रहरीमा परेको छ । यस्तै, अधिकार दुरुपयोग शीर्षकमा २५ वटा, विविध (प्रहरी बाहेकको) ५० र भ्रष्टाचार शीर्षकमा आठ गरी कुल २४९ वटा उजुरीसमेत प्रहरीमा दर्ता भएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement