५ वटा गठबन्धनले संयुक्त चिह्नमा चुनाव लड्ने

५ वटा गठबन्धनले संयुक्त चिह्नमा चुनाव लड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा ५ वटा गठबन्धनले संयुक्त चुनाव चिह्न लिएर चुनाव लड्ने भएका छन।

निर्वाचन आयोगमा परेका निवेदनअनुसार एकल चुनाव चिह्नबाट निर्वाचनमा जान दलहरूले अलग–अलग ५ वटा निवेदन दर्ता गरेका छन्। जसमा दुई वा दुईभन्दा बढी पार्टी मिलेर फरक–फरक चुनावी गठबन्धन बनाएका छन्।

दलहरूलाई एउटै चुनाव चिह्न लिएर चुनावमा जान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले पनि कानुनी व्यवस्था गरेको छ।

छरिएर रहेकाका मतहरू जोडेर एकै स्थानमा ल्याएर बढीभन्दा बढी सिट जित हासिल गर्न दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिएर चुनावमा जान लागेका हुन् । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन दलहरू एकल चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेका हुन् ।

को–को जाँदै छन् संयुक्त चुनाव चिन्ह लिएर

पूर्वउपप्रधानमन्त्री, राज्यमन्त्री, नयाँ पार्टी गठन गरेका नेताहरू एकल चुनाव चिह्न लिएर चुनावी मैदानमा जाने तयारी गरेका छन। पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्न लिएर चुनावमा जान आयोगमा निवेदन दएका छन्।

यी तीन दलले नागरिक उन्मुक्ति पार्टी नेपालको जाँतो चिह्नबाट चुनाव लड्न निवेदन दिएका हुन्। थरुहट आन्दोलनबाट जन्मेका रेशम चौधरीको समर्थनमा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल हालै आयोगमा दर्ता भएको हो।

त्यसैगरी पूर्वराज्यमन्त्री मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी, हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी नेपाल र धपलालप्रसाद सहनी नेतृत्वको नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्न लिएर चुनावमा जान आयोगमा निवेदन दिएका छन्। यी तीन पार्टीहरूले संघीय गणतान्त्रिक गठबन्धन नाम लिएर एकल चुनाव चिह्न बस छाप लिएर चुनावमा जान आयोगमा निवेदन दिएका छन्।

त्यसैगरी पूर्वसहरी विकासमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमनकुमार कर्ण नेतृत्ववको जनादेश पार्टी नेपाल पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा जान आयोगमा निवेदन दिएका छन्। त्यसैगरी अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि एकल चुनाव चिह्न लिएर मैदानमा होमिन आयोगमा निवेदन दर्ता गराएका छन्।

त्यसैगरी पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टी पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा जाने निर्णयमा पुगेका छन्।

चुनाव प्रयोजनका लागि आयोगमा १ सय २६ दल दर्ता भएका छन्। यद्यपि, आयोगमा दल दर्ताको संख्या भने १ सय ४३ छ।

दर्तामध्ये केही दलले एकल चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने भन्दै आयोगमा निवेदन दिएका छन्। राजनीतिक दल दर्ता ऐनले दुई वा सोभन्दा बढी दल एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने सुविधा दिएको छ। आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गराउन आइतबारसम्मको समय दिएको थियो।