काठमाण्डु – प्रतिनिधि सभा विघटन विरुद्ध एकजुट भएका विपक्षी ५ दलको गठवन्धनले आज सञ्चारकर्मीसँग छलफल गर्ने भएको छ ।
पहिलो चरणमा आज दिउँसो २ बजे सम्पादकहरुसँग र त्यसपछि राजनीतिक विषयमा रिपोर्टिङ गर्ने पत्रकारसँग अन्तरक्रिया गर्ने तयारी रहेको राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले जानकारी दिए ।
‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेपछि राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको’ निष्कर्षमा पुगेको विपक्षी गठबन्धनले सडक–संघर्षको नीति लिएको छ ।
जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा भएको भन्दै गठबन्धनले सडक–संघर्षमा जाने निर्णय लिएको हो । प्रतिनिधि सभा विघटन सम्वन्धी रिटमाथि अदालतमा सुनुवाई भइरहेकाले आफ्नो तरिकाले आन्दोलन अघि बढाउने गठवन्धनले जनाएको छ ।
आगामी रणनितीबारे गठबन्दनले विभिन्न व्यक्तिहरुसंग छलफल गर्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि एमाले कै असन्तुष्ट माधव नेपाल पक्षसहित ५ दल गठबन्धन बनाएर सरकारको विरोधमा उत्रिएका हुन् । यसअघि गत पुष ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन हुँदा पनि दलहरु सडक आन्दोलनमा उत्रिएका थिए ।




प्रतिक्रिया