राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्छ :रक्षामन्त्री पोखरेल


काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाले फाल्गुन १५ देखी संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. चौथो उच्च स्तरीय राष्ट्रिय सुरक्षा (Advanced Training on National Security) तालिम समापन भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित समारोह तालिमको समापन गरेका हुन् ।

उक्त तालिमको समापन समारोहमा मन्तव्य राख्दै मन्त्री पोखरेलले राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्न सक्ने र राष्ट्रिय सुरक्षाको लागि सवै नेपालीहरु एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाई साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रवन्ध मिलाउन सहज हुने कुरा समेत बताए ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

उक्त समापन समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement