काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नेपाली पोर्ट’ नामक अध्याधुनिक अध्यागमन सेवाको उद्घाटन गरेका छन् ।
सोमबार दिउँसो सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले रिमोट थिचेर ‘नेपाली पोर्ट’ नामक सफ्टवेयरको उद्घाटन गरेका हुन् । यो सफ्टवेयर नेपालमै नयाँ भएको अध्यागमन विभागले जनाएको छ ।
नेपालको अध्यागमन प्रणालीलाई समयानुकूल सुधार गर्ने कार्ययोजनाअनुसार ‘नेपाली पोर्ट’ विकास गरिएको हो । योसँगै आउने र जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक सूचना (औँठाछापलगायत) अध्यागमन प्रणालीमा सुरक्षित रहनेछ ।
कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले उक्त पोर्ट जडान भएसँगै आपराधिक सञ्जाल ध्वस्त हुने दाबी गरे।
गृहमन्त्री थापाले यो सफ्टवयेरले आँखाको रेटिना, फोटा र फिंगर प्रिन्ट समेत स्क्यान गर्ने र होटलसम्मै पर्यटकको निगरानी गर्ने भएको आपराधिक सञ्जाल ध्वस्त पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नयाँ प्रणालीमा राहदानी विभागले जारी गर्ने राहदानी, वैदेशिक रोजगार विभागले दिने श्रमस्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर र इन्टरपोलसम्बद्ध सूचना सिस्टममै हुने र कम्प्युटरबाट सहजै हेर्न सकिन्छ । विदेशस्थित कूटनीतिक नियोगबाट समेत यही प्रणालीभित्र रहेर भिसा जारी गरिने बताइएको छ ।
योसँगै भिसा आवेदनमा लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ भने विदेशी नागरिक नेपाल बस्दा अनुगमन गर्न सकिने अध्यागमन विभागले जनाएको छ । त्यसका लागि ट्राकिङ गर्न छुट्टै मोडुलको विकास गरिएको छ । भिसा दस्तुर समेत अनलाइनबाटै तिर्न सकिने गरी अनलाइन पेमेन्ट विकास गरिएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन सुधार कार्यक्रम अनुसार २२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म १६ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।




प्रतिक्रिया