सांसद प्रभु साहकाे प्रश्न-हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम ?

सांसद प्रभु साहकाे प्रश्न-हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम ?


काठमाण्डु– प्रतिनिधि सभाका सांसद प्रभु साहले हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो भनेर प्रश्न गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा बोल्दै सांसद साहले थोत्रो हेलिकोप्टर उडाएर मान्छे मारेको देखिएको भन्दै हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो भनेर प्रश्न गरेका हुन् ।

नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको भन्दै घटनाहरूलाई ढाकछोप गर्ने कि सुधार गर्ने भन्दै प्रश्न समेत गरे ।

‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ । राज्य भनेको मान्छे मार्नलाई हो ?’

नियमनकर्ताले जिम्मेवारी लिनुपर्ने र नियमन निकायमा आफन्त र वरिपरिका मानिसलाई नियुक्ति गर्ने प्रचलन रहेको भन्दै उनले यसमा सरकार जबाफदेही हुनुपर्ने बताए । उनले छानबिन समिति गठन गरेर सरकारले ढाकछोप गरिएको भन्दै यसलाई बन्द गर्नुपर्ने बताए ।