एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी

एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – एमाले नेता प्रभु साहले १० औं राष्ट्रिय महाधिवेशनबाट सचिव पद पाउनुपर्ने माग गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका बेला साहले सचिव पद माग गरेका हुन् ।

उनले केन्द्रीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने ।

ती नेताका अनुसार एमाले केन्द्रीय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय, स्थायी र पोलिटब्यूरो कमिटीमा मधेसी समुदायको प्रतिनिधित्व गराउन साहले ओलीसमक्ष माग राखेका छन् ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा रहेका शीर्ष नेतालाई पदाधिकारीदेखि नै समेटेमा मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमासमेत ओलीको ध्यानाकर्षण गराएको ती नेताको भनाइ छ । रामबहादुर थापा बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई उपमहासचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फबाट प्रतिनिधित्व गराउन सचिव पद दिनुपर्ने साह निकट नेताहरूले माग गरिरहेका छन् ।

साह नेतृत्वको साइबर सेनालाई पार्टीको जनवर्गीय सगठनको मान्यता नदिइएको भन्दै पछिल्लो समय साह ओलीसँग रुष्ट थिए । ललितपुरको गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा उपस्थित नभएका साह पछिल्लो समय केन्द्रीय कमिटी बैठकमा सहभागी भएर एमालेमै रहने सन्देश दिएका थिए ।