गरुडा – शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको पटक–पटक अन्तरघातका कारण पार्टी क्षतविक्षत अवस्थामा पुगेको र मुलुकलाई संकटतर्फ उन्मुख गराएको बताएका छन् ।
बिहीबार रौतहटको गरुडामा नेकपा (ओली पक्ष) जिल्ला कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का नेकपा अध्यक्षसमेत रहेका नेता साहले आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिल्यै नगरेको बताए ।
‘दुनियाँमा कतै सुन्नुभएको छ, आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको कुरा ?यो त कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिल्यै गरेन । तर केही कम्युनिष्टहरु आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्यायो । तपाइँहरुले देख्नुभयो होला, त्यसमा प्रभु साहको पनि नाम छ,’ नेता साहले भने, ‘मैले असार महिनामा फरक प्रयोजनका लागि संसदीय दलमा गरेको हस्ताक्षरको दुरुपयोग गरेर आफ्नै पार्टीको सरकारविरुद्ध षड्यन्त्र गरेका माधव नेपाल र प्रचण्ड विगत तीन वर्षदेखि पार्टी भित्र अन्तरघातमाथि अन्तरघात गर्दै आएका हुन् ।’
उनले माधव नेपाल र प्रचण्डको छलछामका कारण पार्टी र सरकार संचालनमा असहज भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् । उनले प्रचण्ड–नेपालले जनताको ताजा मतादेश हाँसिल गर्न आह्वान गरिएको यो प्रक्रियालाई चुनौती दिँदै अदालतमा गएपछि पनि निरन्तर सडकमा प्रदर्शन गर्ने र निच स्तरको गाली गरेर देशमा द्वन्द्व सृजना गर्न खोजेको आरोप लगाएका छन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य बबन सिंहले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए ।




प्रतिक्रिया