काठमाण्डु – माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शहरी विकासमन्त्री प्रभु शाहलाई फोन गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेका बेला मन्त्री शाहलाई उपाध्यक्ष श्रेष्ठले फोन गरेका हुन् । फोनमा श्रेष्ठले पार्टीले पर्खिरहेको बताए ।
जवाफमा मन्त्री शाहले ‘कुन पार्टीले खोज्यो ?’ भन्दै प्रश्न गरेका थिए । उपाध्यक्ष श्रेष्ठले ‘माओवादी केन्द्रले नि ! तपाईंलाई पर्खिरहेछ ।’ भनेपछि शाहले फोन राखेका थिए ।
मन्त्री शाहलाई फोन गर्दा नारायणाकाजीको एक छेउमा पुष्पकमल दाहाल प्रचण्ड, हरिबोल गजुरेल, पम्फा भुसाल, देवेन्द्र पौडेल र अर्को साइडमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरु साथमै थिए ।
प्रभु शाहलगायतका माओवादी केन्द्रका नेता संसद विघटनपछि एमालेतर्फ गएका छन् । सरकारमा गएका मन्त्रीले एमाले नछोड्ने निधो गरेका छन् ।
माओवादी केन्द्रका मन्त्री अहिले पनि सरकारमा छन् । गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु शाह, खानेपानीमन्त्री मणि थापा र श्रममन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रबाट सरकारमा छन् । तर, उनीहरुले माओवादी केन्द्रमा नफर्किने र एमालेमा समाहित हुने बताउँदै आएका छन् ।




प्रतिक्रिया