रमेश खरेलको खुलासापछि अफ्ठेरोमा प्रभु शाह !

रमेश खरेलको खुलासापछि अफ्ठेरोमा प्रभु शाह !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा नेता एवं पूर्वमन्त्री प्रभु शाह विवादमा तानिएका छन् । पूर्वडिआईजी रमेश खरेलले वीरगञ्जका काशीनाथ तिवारीको हत्यामा संलग्न भएको खुलासा गरेपछि शाह विवादमा तानिएका हुन् ।

घटनाको विषयमा शाहमाथि छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । नेकपाका नेताले पनि  शाहमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

नाम नबताउने सर्तमा नेकपाका एक जना नेताले भने, ‘गल्ती गरेकै भए उहाँ (प्रभु शाह)माथि कारबाही हुनुपर्छ । पूर्वडिआईजीले नै त्यसो भनिसकेपछि वास्तविकता बाहिर ल्याउनुपर्छ । यसमा पार्टी र सरकार दुवैले चासो दिएर अगाडि बढ्नुको विकल्प छैन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनामा दोषी पाइए सबै कारबाहीको भागिदार हुनुपर्ने बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रभु शाहको विषयमा जानकारी नभए पनि घटनामा संलग्न भएको पुष्टी भए कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका छन् । प्रवक्ता शर्माले शाहको विषयमा भने वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

एक टेलिभिजनसँग कुरा गर्दै पूर्वडिआईजी खरेलले आफूलाई अनुसन्धान अधिकृतले तत्कालिन मन्त्री शाहको पनि हात रहेको कुरा ब्रिफिङ गरेको बताएका थिए ।

‘अनुसन्धान अधिकृतले मलाई प्रभु शाह पनि घटनामा संलग्न छन् भने । मैले अनुसन्धानले जता लिड गर्छ उतै जान त्यसमा दाँयाबाँया कतै नहेर्नु भन्दै निर्देशन दिएँ । त्यो बेला प्रभु शाहको नाम पनि प्रतिवेदनमा राखेर बुझायौं’ उनले भने, ‘मन्त्रीको नाम प्रतिवेदनमा राख्दा मलाई कति दबाब आयो होला ?’

तिवारीको करिब १२ बर्ष अगाडि वीरगन्जको रानीघाटमा हत्या भएको थियो । २०६७ सालको असारमा माओवादीले वीरगन्जमा गर्न लागेको आमसभालाई बिथोल्न काशी तिवारीले भूमिका निर्वाह गरेको माओवादी पक्षको आरोप थियो ।

पछिल्लो समय वरिष्ठ नेता र सांसदहरु नै कारबाहीमा पर्न थालेका छन् । तत्कालिन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक जना महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।

त्यस्तै कांग्रेस सांसद एवं पूर्वमन्त्री महोम्मद अफ्ताव आलम पनि अहिले जेलमा छन् । उनीमाथि चुनावको समयमा जिउँदा मान्छेलाई इटाभट्टामा पोलेर मारेको अभियोग छ ।