युवाहरुलाई नयाँ नेपाल हस्तान्तरण गर्न आतुर छौं : प्रचण्ड

युवाहरुलाई नयाँ नेपाल हस्तान्तरण गर्न आतुर छौं : प्रचण्ड


काठमाडौ –पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा पुस्तालाई नयाँ नेपाल हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताएका छन्।

 

 

मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीच एकता हुने कुरामा जोड दिए।

 

 

‘हामीले वाम तालमेल गरेर चुनावमा गयौं, नतिजा पनि आशा गरेअनुसार नै आयो। चुनावकै बेला जनताले तालमेल र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्। हामी पार्टी एकतामा संकल्पवद्द छौं। युवा पुस्तालाई राजनीतिक स्थिरता, विकास र नयाँ नेपाल दिने ओलीजी र मेरो संकल्प हो। हामी जीवनको उत्तरार्धमा छौं, हामीले युवा पुस्तालाई केही नयाँ सन्देश दिने अठोटसहित यो जोखिम उठाएका छौं। हामीले नयाँ नेपालको खाका दिन्छौं,’ उनले भने।

 

 

पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको उनले बताए। 

 

‘अब हामी छिट्टै एकताको प्रक्रियामा जान्छौं, युवा पुस्तालाई आशाको रक्तसञ्चार गर्नु हाम्रो दायित्व हो, तपाईहरु पनि यसलाई सफल बनाउन एकतावद्द भएर लाग्नुस्,’ प्रचण्डले भने।

 

 

भेटमा अध्यक्ष राजीव पहारीको नेतृत्वमा आएको युवा संघको टिमले चितवन ३ बाट निर्वाचित भएको र देशव्यापी बाम उम्मेद्वारलाई विजयी गराएको भन्दै प्रचण्डलाई बधाई दिएको थियो।

 

युवा संघले आफूहरु पार्टी एकताका पक्षमा निरन्तर उभिएको पनि अध्यक्ष प्रचण्डलाई स्मरण गराएको थियो।