काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिका सहयात्रीहरू एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन् ।
मंगलबार बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला कमिटीलाई पार्टीमा स्वागत गर्दै उनले माओवादीहरू ढिलोचाँडो एकठाउँमा केन्द्रित हुनुको कुनै विकल्प नरहेको भन्दै पूर्व माओवादीहरु सबैलाई एकै ठाउँमा आउन आग्रह गरे ।
‘छुट्टिएर जानुभएका साथीहरु घर आउनेक्रम जारी छ, धेरै राम्रो भयो । विभाजनको घाउ विस्तारै पुरिँदै छ । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन,’ उनले भने ।
परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन । हामी यति ठूलो परिवर्तनका वाहकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए ।




प्रतिक्रिया