प्रचण्ड–नेपाल समूहको आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला

प्रचण्ड–नेपाल समूहको आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला


काठमाण्डु – संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषण गरेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ ।

भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । प्रचण्ड–नेपाल पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् सदर गरेर चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ ।

ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै छुट्टाछुट्टै बैठक गरिरहेका छन् ।