काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरे ।
बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीले आफ्नो धारणा राखेका थिए ।
बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानूनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।
बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद् बैठकबाट देशभरको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन शहरी विकास मन्त्रालयको हुने गरी ठोस निर्णय गरिने जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय सरकार काठमाडौं उपत्यका लगायत देशभरको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश शहरी विकास मन्त्रालयलाई दिने गरी निर्णय लिन्छौं ।’
प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेश सहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्न समेत निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलमा शहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, शहरी विकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू उपस्थित थिए ।




प्रतिक्रिया