केपी ओलीबाट ढाँटछल भयो : प्रचण्ड

केपी ओलीबाट ढाँटछल भयो : प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले ढाँटछल गरेको बताएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकमा दल नेता प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबीचको गठबन्धनको समीक्षा गर्दै ओलीले ढाँटेको बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डको ब्रिफिङबारे जानकारी दिए । कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएको उनले बताए ।

उनले भने, ‘असार १७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो । कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओलीले बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट हो भन्नुभयो । केपीजीले ३ जना नेता बसौं भन्नुभयो । मैले केपीजी ३ जना बसौं भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँटछल भयो ।’

उनले पूर्व तयारी अनुसार नै प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भन्दै आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने र पक्षमा मत दिन निर्देशन दिने, अन्य दल र स्वतन्त्र सांसदलाई मत दिन आह्वान गर्ने निर्णय बैठकले गरेको बताएका छन् ।