काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङको दिवा भोजमा सहभागी भएका छन् ।
१९औं एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौं शहर पुगेका विशिष्ट अतिथिलाई दिवा भोज दिएर स्वागत गरिएको छ ।
खेलकुद प्रतियोगितामा विशिष्ट अतिथिहरू कम्बोडियाका राजा नारोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, उनकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर, अल सवाह, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसिया तल्लो सदनका सभामुख जोहरी विन अब्दुल र उनकी श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यबाहक अध्यक्ष राजा रणधीर सिंह, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोडर्नका राजकुमार फैजल, थाइल्याण्डका राजकुमारी सिरिवन्नावरी महिदोल लगायतका राजपरिवारको अन्य प्रतिनिधि सहभागी रहेका जनाइएको छ ।
दिवा भोजमा राष्ट्रपति सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गर्दै १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन आएका पाहुनालाई स्वागत गर्दै भने, ‘हामी एसिया ओलम्पिक काउन्सिल, विभिन्न देश र क्षेत्रका प्रतिनिधि मण्डलहरूसँग मिलेर चिनियाँ विशेषता एसियाली शैली र भव्यताको सहितको खेल प्रतिगोयतामा विश्वसामु प्रस्तुत गर्न चाहन्छौं । प्रतियोगिताले एसियाली तथा ओलम्पिक आन्दोलनको विकासमा नयाँ योगदान दिने अपेक्षा गरेका छौं ।’
प्रतिगोयतामा एसियामा रहेका ४८ देशमध्ये ४५ देशका खेलाडीहरू सहभागी छन् । नेपाल २९ खेलमा २५३ जना खेलाडी लिएर एसियाली खेलकुदमा सहभागी भएको छ ।





प्रतिक्रिया