राजावादी सल्बलाउँदा प्रचण्डको नयाँ कार्ड ! सरकार फेर्ने चाहनामा कांग्रेस–एमालेको ‘ब्रेक’

राजावादी सल्बलाउँदा प्रचण्डको नयाँ कार्ड ! सरकार फेर्ने चाहनामा कांग्रेस–एमालेको ‘ब्रेक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने निहुँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी काठमाण्डुमा शक्ति प्रदर्शन गरेपछि नेकपा माओवादीले तराई–मधेश केन्द्रित अभियान स्थगित गर्‍यो ।

गणतन्त्र जोगाउन भन्दै तत्कालै काठमाण्डु फर्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको नाममा वर्तमान सरकार फेर्ने नयाँ कार्ड फालेको चर्चा भएको छ ।

त्यो चर्चालाई बल पुग्ने गरी माओवादी केन्द्रका नेताहरूले अभिव्यक्ति दिइरहेका छन् । माओवादी सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेस–एमाले लगायतका दलहरूसँग सहकार्य गरिने अभिव्यक्ति दिए । उनले भने, ‘हामीले अहिले यो सरकारले दिन नसकेको डेलिभरी र गतिविधिको सशक्त आलोचना गरेका छौं । तर गणतन्त्रको पक्षमा उहाँहरूसँग मिल्छौं । राजसंस्था आउँदै आउँदैन, हुँदै हुँदैन । सम्भव नै छैन त्यो । तैपनि कसैले कोशिस गरे भनेदेखि हामी गणतन्त्रवादी एक ठाउँमा हुन्छौं ।’

माओवादी नेताहरूले गणतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने तर्क गरिरहेका छन् । तर प्रचण्डलाई ‘साइज’मा राख्न अनपेक्षित रूपमा बनेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन राजावादीको सल्बलाहटका कारण भत्किएला ? गणतन्त्रको नाममा प्रचण्डले कांग्रेस–एमाले गठबन्धन भत्काउन सक्लान् ?

प्रचण्डले देखेको राष्ट्रिय सहमतिको सरकारको सम्भावनालाई कांग्रेस र एमालेका नेताहरूले ठाडै अस्वीकार गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारे । सोमबार संसद् भवनमा पत्रकारसँग कुरा गर्दै घिमिरेले मुलुकको स्थायित्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताए । ‘नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्नुहोला,’ उनले भने ।
यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको बताए । संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै बर्तौलाले राष्ट्रिय सहमतिको आधारमै अहिलेको सरकार बनेकोले फेरिने सम्भावना नभएको बताए ।
सरकार परिवर्तन कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा दलहरू केन्द्रित नरहेको उनले बताए । ‘सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएका हुन्,’ उनले भने ।

सरकारबाहिर पुगेपछि माओवादी छट्पटिएको आरोप लाग्ने गरेका बेला माओवादीले सहमतिको नाममा आफू सरकारमा जाने बाटो खोजेको बताइएको छ । कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले सरकार फेरिने चर्चामा विमति राखेका छन् ।

उच्च राजनीतिक नेतृत्वबाट कुनै नाटकीय परिवर्तन नभएमा तत्कालका लागि दुवै दलका प्रमुख सचेतकले सरकार फेरबदलको प्रयास र चर्चालाई खारेज गरेका छन् ।