माओवादीलाई लागेको रोगको उपचार गर्ने डाक्टर जनता हो : अध्यक्ष प्रचण्ड

माओवादीलाई लागेको रोगको उपचार गर्ने डाक्टर जनता हो : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई लागेको रोगको उपचार गर्ने डाक्टर जनता भएको बताएका छन् ।

तराई–मधेश जागरण अभियानअन्तर्गत शनिबार चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन । हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने संकल्पसहित जनतामाझ आयौं ।’

२०६४ सालमा जनताले नै माओवादीलाई सिंहदरबार पठाएको बताउँदै उनले कांग्रेस–एमालेप्रति कटाक्ष गरे । उनले भने, ‘हामीलाई ०६४ सालपछि कांग्रेस एमाले र राजामहाराजाले दयामाया गरेर सिंहदरबार पुर्‍याएका थिएनन् । हामी अपराजय हौं । कसैले जित्नै सकेन । नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले पनि माओवादीलाई दबाउन सकिँदैन भन्ने बुझेका हुन् ।’

जनतासँगको सम्बन्ध कमजोर भएपछि यथास्थितिलाई तोड्न जागरण अभियान सुरु गरेको उनले बताए । ‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएपछि जालीझेली फस्टाउँदै गए । तर यथास्थितिलाई तोड्नैपर्छ भने हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सुरु गर्‍यौं,’ उनले भने ।

उनले आफू जीवित रहँदासम्म नेपालमा पुनः राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताए । अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने उनले बताए ।

‘हामीले सम्पूर्ण रूपमा परास्त गर्नेछौं,’ उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ ।’

सरकार भ्रष्टाचारमा लागेकाले प्रतिक्रियावादीहरू सक्रिय भएको उनले आरोप लगाए । नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने उनले बताए ।

माओवादीलाई बिचौलियाहरूले सरकारबाट बाहिर ल्याएको उनले बताए । ‘बिचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर बाहिर आउँदा जनताले हामीप्रति जनताले नयाँ अनुभूति लिन थालेको पाएको छु,’ उनले भने ।