काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।
बिहीबार १३६औं मे दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरूमा फेरि एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए ।
उनले भने, ‘तपाईंहरू राम्रो तयारीमा बस्नुहोस् । हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ । एकचोटी क्रान्ति गर्नेछौं । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । तर राज्य र सरकारमा भएकाहरूले यदि शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गर्ने गल्ती गरे भने दमनद्वारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि सक्दैन ।’
श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उनले बताए । उनले भने, ‘श्रमसँग श्रमिक जोडिएका छन् । हाम्रो विश्वका जे–जति प्रगति भएको छ, त्यो भौतिक वा अन्य सबैखाले प्राविधिक प्रगति मजदुरहरूको मेहनतको बलमा नै भएको छ । त्यसैले इतिहासको निर्माता र समाज विकासको प्रणेता पनि श्रम र श्रमिकहरू नै हुन् ।’
अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्त्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए ।
जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हकअधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा उनले राखे ।
अध्यक्ष प्रचण्डले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिक विरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । उनले राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारिएको स्मरण गरेका छन् ।
प्रतिक्रिया