सरकारलाई १ महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : अध्यक्ष प्रचण्ड

सरकारलाई १ महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरूविरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।

झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित ५ वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी यथास्थितिवाद र प्रतिगमन विरुद्धको लडाइँमा छौं । एकातिर दलाल पुँजीवादीहरूको घेराबन्दी छ भने अर्कातिर गणतन्त्रको विरोधमा सक्रिय प्रतिक्रियावादी शक्तिहरूको चुनौती छ । हामी यसका विरुद्ध दृढतापूर्वक लड्नुपर्नेछ ।’

अध्यक्ष प्रचण्डले पछिल्लो समय संसद अवरोध गर्नुको उद्देश्य सरकार फाल्ने नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई प्राथमिकता दिलाउने रहेको स्पष्ट पारे ।

‘हामीले संसद् अनन्तकालसम्म रोक्ने भन्ने कुरा थिएन । सदनमा नागरिकता, विद्यालय शिक्षा, निजामति सेवा जस्ता विधेयकहरू संसदमा वर्षौंदेखि अल्झिएका छन् । ती विधेयकहरू सरकारमा रहँदा हामीले नै संसदमा दर्ता गरी अघि बढाएका थियौं । यी जनतासँग जोडिएका, शान्तिप्रक्रियासँग र संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय हुन्, जसलाई पूर्णता दिन आवश्यक छ । हामीले सरकारलाई १ महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं र संसद् खोलियो,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘माओवादी केन्द्रले सधै नीति, बहस र विचारमा आधारित राजनीति गर्दै आएको छ, न कि पद र शक्ति हत्याउने उद्देश्यले ।’

‘हामी अहिले कांग्रेस र एमालेसँग संसद्मा जनताको मुद्दा उठाएर बहस गर्न चाहन्छौं । सरकार बनाउने कुरा हाम्रो प्राथमिकता होइन,’ उनले भने ।

प्रचण्डले हाल माओवादी केन्द्रप्रति जनतामा समर्थनको लहर देखिएको अवस्थामा पार्टीलाई बदनाम गर्ने नियोजित षड्यन्त्रहरू भइरहेको गम्भीर आरोप समेत लगाए । ‘राम्रा कामकै कारण माओवादीप्रति जनविश्वास बढेका कारण के भनेर हुन्छ, के गरेर हुन्छ माओवादीलाई बदनाम गरौं भन्ने सोच अहिले सक्रिय देखिन्छ,’ उनले भने, ‘तर हामीले सुरु गरेको सुशासन, समृद्धि र परिवर्तनको अभियानबाट पछि हट्दैनौं ।’

माओवादी केन्द्रले जनताको पक्षमा अघि सारेका समृद्धिका योजना तथा कार्यक्रमहरू हालको गठबन्धन सरकारले काटिदिएको उनले बताए ।

अध्यक्ष प्रचण्डले पार्टी सरकारमा बसे पनि नबसे पनि जनता र उत्पीडित समुदायको पक्षमा सधैं उभिइरहने बताए । उनले सामाजिक न्याय, समानता, र पहिचानको मुद्दालाई राज्यका सबै तहमा स्थापित गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको पुनः दोहोर्याउनुभयो।

सो अवसरमा उनले माओवादी केन्द्रले देशको संघीय संरचना, समावेशी शासन प्रणाली र पहिचानका आधारमा अधिकारको प्रत्याभूतिको पक्षमा लगातार संघर्ष गरिरहेको स्पष्ट पनि पारे ।

सोही क्रममा काठमाडौं उपत्यकामा नेवार समुदायसँग प्रत्यक्ष संवादका लागि नेवा सम्मेलन र भेला समेत गरिएको उल्लेख गर्दै, पहिचान भएका सम्पूर्ण समुदायको सहभागिता सशक्त बनाउन पार्टीले पहल लिएको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भने, ‘विभिन्न जातीय मोर्चाहरूको सम्मेलन गर्दै आएको सन्दर्भमा कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊ मोर्चाको सम्मेलन पनि असारअघि नै सम्पन्न गरिएको हो । यो सम्मेलन नेतृत्वले सोचेर, विचार गरेर गरिएको हो,’ उनले भने ।