विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् ।
विराटनगरमा सम्पन्न १ नम्बर प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो । यो कुरा तपाईंहरूले पनि बुझ्नुपर्यो । तल जनतालाई पनि बुझाउनुपर्यो ।’
आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमीक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौति उत्पन्न भएको समेत बताए । उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूला–ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए ।
‘समाजवादको तयारी गर्न हामीले अझ ठूला वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ,’ उनले भने, ‘मार्क्सवादले भनेको आलोचना र आत्मसमीक्षा यही हो ।’
अध्यक्ष प्रचण्डले १ नम्बर प्रदेशलाई ‘अग्रगामी चेतनाको स्रोत’ भन्दै यहाँका कार्यकर्ताहरूको आलोचनात्मक चेतना पार्टी विकासका लागि सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन् ।
पार्टी विभाजनपछि पुन: मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमीक्षासहित पार्टीमा फर्किएकाले आएका नेता–कार्यकर्तालाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै उनले होच्याउने, हेला गर्ने काम नगर्न निर्देशन दिए ।
अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा विराटनगरमा सम्पन्न प्रदेश समिति सचिवालय बैठकले पार्टीभित्रको वैचारिक बहस, संगठन निर्माण तथा समसामयिक राजनीतिक विषयमा गहन छलफल गरेको छ ।




प्रतिक्रिया