काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् ।
सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले कूटनीतिक पहलको आवश्यकता औंल्याए ।
आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै उनले भने, ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ ।’
उनले भने, ‘कमरेडहरूलाई यो पनि थाहा हुनुपर्छ । राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लोपटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी इतिहासमा पहिलोपटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो । मैले मिहिनेत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौं । अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ ।’
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेता–कार्यकर्तालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए । उनले भने, ‘पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ । केही प्रदेशहरूको बैठक बसेका छौं । यो पाँचौं प्रदेशको बैठक हो । अहिले समय अभाव भयो, छिट्टै प्रवासका सबै साथीहरूको कुरा सुन्ने गरी अन्तरक्रियात्मक अर्को बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु । अहिले प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्व दिइएको छ ।’
‘पार्टीले राम्रोसँग महसूस गरेको छ कि मध्यपूर्व र एसियालाई महत्व नदिए पार्टीलाई राम्रोसँग अगाडि बढाउन सकिन्न । प्रवासमा रहेका साथीहरूलाई पार्टीमा महत्व दिने गरी थप निर्णय गर्छौं,’ उनले भने ।
पार्टीले मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति आभार व्यक्त गरेको बताउँदै उनले भने, ‘प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन ।’




प्रतिक्रिया