काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढीभन्दा बढी जिम्मेवारी दिने र त्यसमा पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौं । छिट्टै त्यो निर्णय पनि गर्नेछौं । नयाँ पुस्तालाई बढीभन्दा बढी जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो ।’
युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना देख्नुपर्ने भन्दै अब युवाहरूलाई नयाँ नेपालको नयाँ नेताको रूपमा तयार पार्ने उनले बताए ।
उनले भने, ‘१ हजार जेनजी युवाहरूलाई पार्टीमा स्वागत गर्दैगर्दा हामीले देखेको सपना नेपालबाट समान्ती उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपना बोकेर गरेका कामहरू स्मरण भएको छ । नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नु पर्छ भन्ने महसूस गरेको छु । अब युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ ।’
जेनजी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको, त्यसले देश र संसारभर रहेका नेपालीहरूलाई झक्झकाउने र एउटा नयाँ चेतनातिर अगाडि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाइ छ ।




प्रतिक्रिया