म जनताको सेवक हुँ, प्रधानमन्त्री बन्ने रुचि छैन : संयोजक प्रचण्ड

म जनताको सेवक हुँ, प्रधानमन्त्री बन्ने रुचि छैन : संयोजक प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधै काम गर्ने बताएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिष्ट पार्टीका बारेमा विस्तृत धारणा राखे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफू प्रभावित भएको बताउँदै प्रचण्डले भने, ‘सम्बोधनको क्रममा उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो । म भगवान् होइन । तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ । तैपनि कृष्ण थपलियाजीले मलाई जुन रूपमा प्रस्तुत गर्नुभयो, उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’

थपलियाले व्यक्त गरेको सम्मान र भावनाप्रति कदर व्यक्त गर्दै उनले धन्यवाद दिए ।

समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले भने, ‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन ।’

उनले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए ।

सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा आफूले प्रधानमन्त्रीका रूपमा गरेको प्रयास र लगानी जुटाउने कोसिसको स्मरण गरे । उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताउँदै भने, ‘म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु ।’

प्रधानमन्त्री भएका समयमा सिंहदरबारमा परियोजनाका मोडालिटी र आर्थिक संयोजनबारे ३ पटकभन्दा बढी उच्चस्तरीय बैठक भए पनि इच्छाअनुसार गति दिन नसकिएको उनले बताए ।

गाउँपालिकालाई देशकै १ नम्बरमा स्थान दिलाउन अध्यक्ष थपलियाको नेतृत्व र जनताको साहस प्रशंसनीय रहेको भन्दै प्रचण्डले प्रशंसा गरे । ‘बेनिघाट रोराङ देशभरि ‘बेरुजुविहीन’ र उच्च कार्यक्षमता भएको पालिका भनेर चिनिएको छ र यसले अन्य स्थानीय तहलाई प्रेरणा दिएको छ,’ उनले भने । आफू देशका विभिन्न स्थानमा जाँदा पनि बेनिघाट रोराङलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको स्मरण समेत उनले गरे ।

प्रचण्डले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको बताए । ९० प्रतिशत घरधुरी विद्युत् पुग्नु, लाखौं किलोमिटर सडक विस्तार र सरदर आयु ७१–७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उनको धारणा थियो ।

तर पछिल्ला वर्षमा भ्रष्टाचार मौलाउँदै गएको, राज्यको ध्यान रोजगारी सिर्जनाभन्दा वैदेशिक श्रममा मोडिएको कारण केही शक्तिहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको उनले बताए । देशमा २३ र २४ गते भएको घटनालाई स्मरण गर्दै संयोजक प्रचण्डले युवा आन्दोलन र त्यसपछिका घटनामा राज्यको लापरबाहीले ‘राज्यविहीनता’ जस्तै अवस्था सिर्जना भएकोप्रति व्यक्त गरे । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग रोक्न पहिलो वक्तव्य आफूले नै निकालेको याद दिलाउँदै सुरक्षा व्यवस्थापन, राज्यले गर्ने बल प्रयोगमा कमजोरी हुँदा ठूलो क्षति भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

संयोजक प्रचण्डले संविधान खारेज गर्न खोज्ने, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारूले प्राप्त गरेको अधिकार कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय रहेकाले त्यसविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग मिलेर प्रतिवाद गर्ने जानकारी दिए । त्यसका लागि वामपन्थी मात्र होइन, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर ‘सशक्त मोर्चा’ निर्माण गरिने उनले बताए ।

अहिले देश वर्तमान अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको उल्लेख गर्दै उनले देशलाई पार लगाउन ‘निर्वाचन नै उत्तम विकल्प’ भएको विचार व्यक्त गरे । सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै संविधानलाई सही ट्रयाकमा फर्काउने उपाय निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने उनले बताए । उनले तत्कालीन सरकारका प्रमुख एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको बताउँदै ढाट, झूट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्रयाकमा ल्याउन देशमा निर्वाचको वातावरण बनाउनेतर्फ लाग्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।