काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका स्थापित नेताहरू नेकपासँग जोडिएका दाबी गरेका छन् ।
शनिबार नेकपाले सुर्खेतमा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले हालै जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौता नेपाली कम्युनिस्ट पार्टीसँग मिलेको बताए ।
आफूहरूलाई गाली गर्ने जेनजीका प्रतिनिधिहरू पनि नेपाली कम्युनिस्ट पार्टीसँग जोडिँदै आफू र माधव नेपाललाई अभिभावक मान्न तयार भएको उनले बताए ।
संयोजक प्रचण्डले जेनजी आन्दोलनमाथि तत्कालीन सरकारले भदौ २३ गते ठूलो दमन गरेको स्मरण गर्दै आफूले दमनको विरोध गर्दै जेनजीका मागहरू सम्बोधन गर्नुपर्छ भनेको बताए । ‘तत्कालीन सरकारले वास्ता नगरेका कारण आन्दोलनको परिस्थिति आएको हो,’ उनले भने ।
जेनजीहरूले गरेको आन्दोलनले ‘सक्किने कि सच्चिने’ भन्ने विषयमा ठूलो चुनौती खडा गरेको भन्दै प्रचण्डले यसले आफूहरूलाई रूपान्तरण हुने अवसर मिलेको बताए । उनले गौरवशाली इतिहास बोकेको कर्णालीमाथि शासकहरूको विभेदका कारण पछि परेको बताउँदै कर्णालीका सम्भावनाहरूलाई उपभोग गर्दै आफ्नो पार्टी समाजवादको यात्रामा अघि बढ्ने बताए ।
पार्टीका सहसंयोजक माधव कुमार नेपालले नेपाली राजनीतिमा महत्वपूर्ण काम भएको र साना–साना कम्युनिस्ट पार्टीहरूलाई एकतामा ल्याइएको भन्दै जनतालाई नेकपाप्रति ठूलो आशा भएको बताए ।
‘नेपाली कम्युनिस्ट पार्टीलाई जनताले इमान्दार नेताहरूको पार्टी हो भन्ने बुझेका छन्,’ उनले भने, ‘नेपाली पहिचानलाई स्थापित गराउनु छ भने नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउनुपर्छ ।’ उनले आफ्नो पार्टीबाहेक अरुले गणतन्त्र र लोकतन्त्रको रक्षा गर्न नसक्ने बताउँदै भ्रष्टाचार र कुशासनको अन्त्य नगरी देशलाई अगाडि बढाउन नसकिने बताए ।
नेता झलनाथ खनालले नेकपा राष्ट्रिय रूपमा अपराजय पार्टीको रूपमा विकास हुने दाबी गरे । उनले भ्रष्टाचारको अन्त्य गरेर समाजवादको स्थापना गर्न जरुरी रहेको भन्दै नेकपा एमालेलाई पनि यही पार्टीको एकतामा आउन अनुरोध गरेका छन् ।




प्रतिक्रिया