राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : संयोजक प्रचण्ड

राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : संयोजक प्रचण्ड


काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको टिप्पणी गरेका छन् ।

शनिबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुन:स्थापनाको पछाडि नलाग्न बताए ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

समान वैचारिक दृष्टिकोण रहेका वाम शक्तिबिच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य पार्टीसँग पनि एकता गरिने उनले जानकारी दिए ।

सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रस्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताए । पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेकपामा स्वागत गरिएको छ ।