काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको दम्भ प्रदर्शन नगर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चुनौती दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्रमा जनमत र संख्या सधैं स्थिर रहन नसक्ने तथ्य बुझेर अघि बढ्न रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए ।
उनले आफ्नो राजनीतिक यात्राको अत्यन्त उतारचढावपूर्ण अनुभवले हार सहनभन्दा जीत पचाउन गाह्रो हुने बताए । वर्तमान संसद्मा रास्वपासँग करिब–करिब दुईतिहाइको विशाल बहुमत रहेको भन्दै प्रचण्डले विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ‘ह्यान्डल’ गर्न सुझाए । उनले जनसमर्थन सधैं स्थायी हुँदैन भन्ने कुरा आफूहरूको इतिहासबाट सिक्न आग्रह गरे । ‘नेकपाका रूपमा हामी यही संसद्मा करिब तपाईँहरूकै साइजमा थियौँ, केही वर्षअघि । जनताको त्यो विश्वास हाम्रो आफ्नै कमजोरीको सिकार भयो,’ उनले भने, ‘संख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन नि:शर्त हुन्छ । त्यो हामीबाट सिक्नोस्, इतिहासबाट सिक्नोस् ।’
विपक्षी दलका रूपमा आफूहरू रास्वपाको कमजोरीको प्रतिक्षामा नरहेको भन्दै प्रचण्डले जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने काममा, साथ र समर्थन रहने बताए । राष्ट्र निर्माण सामूहिकताबाट मात्र सम्भव रहेकामा उनले जोड दिए ।
‘विपक्षी दलका रूपमा हामी तपाईंहरूको कमजोरीको प्रतिक्षामा छैनौं,’ प्रचण्डले भने, ‘जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नोस्, साथ र समर्थन रहन्छ ।’
संसद् लोकतन्त्रको आधारस्तम्भ मात्र नभई नागरिक सम्प्रभूताको सबैभन्दा ठूलो प्रयोगस्थल समेत भएको उनले बताए । निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनुपर्नेमा उनले जोड दिए ।
नेपालको भूराजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्ने भन्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणको प्रश्न नेपालीका लागि आज सर्वाधिक संवेदनशील र महत्वपूर्ण प्रश्नका रूपमा उभिएको बताए । ‘हाम्रो भूराजनीतिक अवस्थितिका कारण विभिन्न शक्तिकेन्द्रहरूका दबाब र हस्तक्षेप बढ्दो छ । साथै हाम्रो प्राकृतिक स्रोतसाधन जसमा युरेनियम जस्तो बहुमुल्य खनिज पदार्थ पनि पर्दछ । तिनमा आफ्नो नियन्त्रणका लागि समेत शक्ति केन्द्रहरू लाग्न सक्दछन् । यस्तो संवेदनशील परिस्थितिमा सम्पूर्ण देशभक्त नेपालीहरू आफ्नो राष्ट्रिय हित, आत्मसम्मान र संशाधनको रक्षा गर्न एकजुट हुनुपर्ने ऐतिहासिक आवश्यकता छ ।’




प्रतिक्रिया