काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन ।’
उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं, त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ ।’
सम्बोधनका क्रममा संयोजक प्रचण्डले मधेशी जनताको सपनाहरूको जगमा यो सरकार बने पनि सिँगो नीति तथा कार्यक्रममा मधेशप्रति मौन रहेको बताए । उनले भने, ‘सत्तारुढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो । तर त्यो क्षमा सरकारको नीति तथा कार्यक्रममा कहीँकतै प्रकट हुन सकेन । सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारहरूभन्दा पनि प्रतिगामी बन्न पुगेको छ ।’
उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई नीति तथा कार्यक्रमले सम्बोधन नगरेको बताए ।




प्रतिक्रिया