संयोजक प्रचण्ड र जेभीपी महासचिव सिल्भाबिच भेटवार्ता, सहकार्यबारे गहन छलफल

संयोजक प्रचण्ड र जेभीपी महासचिव सिल्भाबिच भेटवार्ता, सहकार्यबारे गहन छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबिच भेटवार्ता सम्पन्न भएको छ ।

कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबिच विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दुवै देशको ऐतिहासिक अनुभव, समकालीन राजनीतिक चुनौती तथा भविष्यको सहकार्यका सम्भावनाबारे गहन विचारविमर्श भएको थियो ।

भेटका क्रममा लागि नेपाली कम्युनिस्ट पार्टी र जनता विमुक्ति पेरामुनाबिचको आपसी सम्बन्धलाई अझ संस्थागत र सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । एसियामा रहेका समाजवादी तथा प्रगतिशील राजनीतिक शक्तिबिच वैचारिक, राजनीतिक र सांगठनिक सहकार्यलाई विस्तार गर्दै साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा दुवै नेताले जोड दिएका थिए ।  

भेटवार्तामा कम्युनिस्ट आन्दोलनको साझा लक्ष्य समाजवादको स्थापना भएको उल्लेख गर्दै अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकासतर्फ अघि बढ्न विभिन्न देशका वामपन्थी शक्तिहरूबिच अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय ऐक्यबद्धता र निरन्तर सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो ।

यसअघि ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीलंका पुगेका संयोजक प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनमा संयोजक प्रचण्डले एसियाली समाजवादी शक्तिबिच व्यापक एकता, साम्राज्यवादविरुद्ध साझा प्रतिरोध तथा समाजवादको नयाँ राजनीतिक रूपरेखाको आवश्यकता औंल्याएका थिए । सोही भ्रमणका क्रममा भएको द्विपक्षीय भेटलाई नेपाल र श्रीलंकाका वामपन्थी आन्दोलनबिचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

संयोजक प्रचण्डको श्रीलंका भ्रमणले नेपाली कम्युनिस्ट पार्टी र श्रीलंकाको जनता विमुक्ति पेरामुनाबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।