राष्ट्रसंघका महासचिवको भ्रमणले नेपालको प्रतिष्ठा बढ्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

बडादशैं, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न भ्रमणबाट महत्त्वपूर्ण सहयोग मिल्ने बताए ।

उनले राष्ट्रसंघका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताए ।

‘यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए, त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ,’ उनले भने ।

चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । ‘मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनै रूपले सहयोग गर्दै आएको छ,’ उनले भने ।

प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूबीच समझदारी बनाउन प्रयास गर्दै आएको उनले बताए । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement