दमौली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने बताएका छन् ।
आज शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेकाले त्यस्ता षड्यन्त्र चिर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सामन्ती तथा निरंकुश शक्तिहरूलाई पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेका छन् । उनीहरू संघीयताका विरूद्ध, गणतन्त्रका विरूद्ध, समावेशी–समानुपातिक प्रणालीका विरूद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन् । त्यो कुनै पनि हालतमा सफल हुँदैन । लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो ।’
जनता न्यायाधीश भएकाले व्यवस्था विरोधी षड्यन्त्रलाई जनताले असफल पार्ने प्रचण्डले बताए । उनले भने, ‘गणतन्त्रअघि सुव्यवस्था, विकास र प्रगति थियो ? जुन शक्तिहरूले अहिले संस्कारको कुरा गरिरहेका छन्, तिनीहरूको संस्कार के हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् । कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? हजारौं नेपालीमाथि दमन कसले गर्यो ? जो सबैभन्दा बढी तानाशाह छन्, फासिष्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने ? यस्तो भ्रामक प्रचार र व्यवस्थाविरोधी षड्यन्त्र असफल पार्नुपर्छ । जनता न्यायाधीश हुन्, असफल पार्छन् ।’
प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पुर्याउँछौं, अधिकार नपुग्दै संघीयता असफल भयो भन्न हुन्न ।’
प्रधानमन्त्री प्रचण्डले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै संघीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे । उनले भने, ‘संघीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ । संघीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।’
प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्त्वबारे बुझाउन सकिँदैन ।’
प्रधानमन्त्री प्रचण्डले ३ वटै ऐन कार्यान्वयनमा आउने उल्लेख गरे । गत ३–४ दिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उनले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे । संघीय निजामती ऐन बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ऐन पनि कार्यान्वयनमा आउने स्पष्ट पारे ।
उनले सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने विश्वास दिलाउँदै स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारी लगायतले आँबुखैरेनी विकासको अभियानमा अगाडि बढेको बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको १ वर्षपछि अस्पतालको प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार उद्घाटन गरे । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मंसिर १ गतेदेखि स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पतालको रूपमा सेवा सुरु गरेको थियो ।
अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी लगायत सेवा सुरु गरिएको छ । अस्पतालमा १ जना विशेषज्ञ चिकित्सक र २ जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए ।
अस्पतालमा एक्सरे सेवा समेत सञ्चालनको तयारी गरिएको छ । जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाबाट ५०० एमए एक्से मशिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डीबी क्षेत्रीले जानकारी दिए ।




प्रतिक्रिया